१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

४२ वर्षदेखि अनागरिक रहेका नुवाकोटका जोनी, जो नेपाली नागरिक बन्न पलपल तड्पिरहेका छन

-जोनी जेके

मेरो उद्देश्य कोही कसैलाई आक्षेप लगाउने राम्रो र नराम्रो भन्ने होइन माहामहिम राष्ट्रपतिको चर्चा जुन नागरिकता विधेयकसँग जोडिएर भैरहेको छ ठीक त्यही समयमा म मेरो आमाको उपचारका लागि अस्पतालमा रहेको छु । काठमाडौँको बाँसबारीस्थित गंगाल ह्दयरोग केन्द्रमा उपचाररत आमाको कुरूवा बनेर बस्दा मेरा मनमा उब्जिएका केही कुरा…

म र मेरो सन्तानको लागि के को फिजी के को सिक्किम के थाहा ? किन चाहियो लेन्डुपको इतिहास हामीलाई ? हामीलाई त केवल नेपाली नागरिकको पहिचान चाहियो, हामीलाई के संविधान के बिधेयक यसमा कुनै चासो छैन । एउटा बाबू र आमालाई उसको सन्तान नै सबै भन्दा प्यारो र महत्वपूर्ण हुन्छ ।

नेपाल र नेपालीका छोराछोरी डिभी भर्छ्न र पर्छ्न दुई हातमा लड्डु के ती हाम्रा नेपाली बाबुनानी अमेरिका युरोप अष्ट्रेलिया आदि मुलुकमा गएर ती देशहरू नेपाल हुन्छन् र बन्छन् त ? यो एउटा राजनैतिक स्टन्ड मात्र हो कसले र कसरी राजनैतिक प्रयोग र डरको सेन्टिमेन्ट प्रयोग गरेर राजनैतिक एजेन्डा तयार गर्ने हो नागरिकता मुद्दा भन्ने विषयमा प्रयोग गर्ने र गराउने रहेछ ।

मेरो थुप्रै साथीहरू मैले माथि उल्लेख गरेका देशहरूमा छन् । उनीहरुसम्म त नेपालको र राष्ट्रियताको बारेमा माया मोह र चिन्ता छ भन्छन् र देखिन्छ पनि तर उनीहरुको सन्तानहरुमा भने आफू जन्मेको हुर्केको देशप्रतिनै माया मोह राष्ट्रियता देखिन्छ । त्यसैगरी म र मेरो सन्तानमा पनि तेहि कुरा लागू हुन्छ । म र मेरो सन्तान पनि यो देश र देशको लागि जे गर्न पनि तयार छौं ।

हामी यहीँ नेपाली भूमिमा जन्मेर हुर्केका कर्म गरिरहेकाहरूका लागि अरु कुनै देश र राष्ट्रियताले महत्व राख्दैन । जबसम्म भारतसँगको नेपालको सीमा खुल्ला रहिरहन्छ र सामाजिक आर्थिक र संस्कृतिक सम्बन्ध बिबाह जस्ता महत्त्वपूर्ण सम्बन्ध गाँस्ने चलन चलिनैरहन्छ । अनि यस्तो अवस्थामा यो नागरिकताको मुद्दा कसरी हल हुन्छ ?

अनि देशको राष्ट्रियता र अखण्डतामा खतरा त थुप्रै नेपालीहरू पलायन भयो भने पनि त हुन्छ होला नि ! देशका थुप्रै शिक्षित र सक्षम नागरिकहरू देश छोडेर विभिन्न देशमा शिक्षा रोजगार र DV (diversity visa) को नाममा पलायन भाका छ्न । कुनै एक समयका भनौ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले आफ्नो छिमेकी देश मेक्सिकोबाट हुने आप्रवासीको अबैध आवागमन रोक्न पूर्ण रुपमा पर्खाल लाउने काम सुरु गरे तर पूरा भएन र यो मलाई मेरो विचारमा सहि गलत थाहा भएन र यसको आशय भारतीयहरुलाई सहज रुपमा नागरिकता दिनुपर्छ भन्ने होइन तर यो विषय अहिलेको होइन तैपनि यो विषय जहिले पनि बलिराखेको आगो निभाउने नभई घ्यु हाल्ने काम भइरहन्छ र आगो ताप्ने र रोटी सेक्ने काम भइरहन्छ।

जब हामी हाम्रो दाजुभाइ दिदिबहिनी छोराछोरीले विदेशी PR,TR र Citizen पायो भने लड्डु बाँड्छाैँ भोज भत्तेर खुवाउछाैँ, तेतिखेर चाहिँ राष्ट्रियता कता जान्छ अचम्मित छु । अहिलेसम्म पनि विधेक पास नभए पनि २०६३ को संविधानपछि बिबाहपछि भारतीय महिलालाई नागरिकता बाँडिएकै छ । कस्ले पायो भन्दापनि कस्ले पाउनु पर्छ भन्ने महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ । खोइ त हामी जस्ताको लागि कुनै पनि माहामहिमको चासो । याँहा त समस्यालाई मुद्दा बनाउने र त्यसको राजनैतिक खेल बनाएर खेल मात्र काम भयो ।

व्यक्तिगत रूपमा मलाई विभिन्न दलका दाजुभाई दिदिबहिनी साथिभाइ इष्टमित्र सम्पूर्ण दलको माया स्नेह सहयोग रहिरहेको छ । कुन विधि र बिधानले यो देशमा ४२ औं वर्षसम्म पनि म अनागरिक भइ बाचिरहने ? अब त मेरो आफ्नै छोराछोरी गरि चारजनाको समुह नै भइसक्यो ।

म त मेरो देशलाई फिजी पनि हुनदिन्न र सिक्किम पनि हुनदिन्न र कसैले बनाउन खोज्छ भने म मर्न र मार्न तयार छु । यो देश र जिल्लाको लागि शैक्षिक क्षेत्रमा लागि २४ वर्ष सेवा गरेँ । क्रिकेट खेल मार्फत पनि देश र नुवाकोट जिल्लाको सेवा गरे र दुबै क्षेत्रको बाचुन्जेल सेवा गरि रहनेछु । तर दुःख कुरा के छ भने मैले यो देशको नागरिकता पाउन के गर्नुपर्ने मैले थहा पाइन ।

म यो कुरा अहिले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आमाको हृदयघातको उपचाररत अवस्थामा अस्पतालको एउटा कुनामा बसी लेखिरहेको छु । आमा अस्पतालको बेडमा लडिरहनु भएको छ । मलाई थाहा छ आमाले रोगलाई जित्नु हुन्छ । किनभने आमाको इच्छा छ कि म यो देशको नागरिक भएको हेर्ने । आमाले भन्नू पनि हुन्थ्यो एउटी आमा राष्ट्रपति हुनुहुन्छ अब दिन्छन हामिहरू जस्तो पीडितलाई, आमालाई के थाहा राजनीतिको दाउपेच र संविधानको कथा र कुथुङ्ग्री ? आफ्नो पीडा र आमाले देखेको सपना र आमाको critical care unit वरिपरि घुमेको सपना र पीडा । 🙏

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार २३:३६