१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोट कांग्रेसमा फेरि बल्झियो निषेधको राजनीति, केसी समूह सिफारिसमै परेन


१८ भदौ, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटमा विगतमा गुटबन्दीका कारण निषेधको शिकार भएका नेताहरू अहिले नेतृत्वमा छन । अहिले तीनैले विगतको बदला लिएर फेरि निषेधको राजनीति सुरू गरेका छन ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको सिफारिस गर्ने बेलामै निषेधको राजनीति प्रष्ट देखिएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ ले शुक्रबार उम्मेदवार सिफारिस गर्दा पञ्चायतदेखि प्रभावशाली बनेका नेता अर्जुननरसिंह केसीको नाम प्रत्यक्षमा सिफारिस नै गरेन ।

केसीले जनताको बीचमा यसअघि नै अन्तिम पटकका लागि मत मागेको भए पनि पछिल्लो महिना प्रत्यक्षमा चुनाव लड्ने रहर गरेको कुरा उनका शुभेच्छुकहरू मार्फत बाहिर आएको थियो । त्यतिमात्रै हैन पूर्व जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको त नाम नै उल्लेख गरेन ।

क्षेत्रीय समितिले प्रत्यक्ष र समानुपातिकमा सिफारिस गर्दा जगदिश्वरनरसिंह केसीको नाम कतै देखिएन । उनले पनि क्षेत्र नम्बर २ मा प्रत्यक्ष निर्वाचनमा उम्मेदवारको रूपमा सहभागी हुन चाहन्थे । केसी कांग्रेसको बागमती प्रदेश सभापतिमा पछिल्लो समय पराजित भएका थिए ।

उनी २०७४ सालको चुनावमा नुवाकोट २ को प्रदेशसभा क मा कांग्रेसको उम्मेदवारको रूपमा पराजित भएका थिए । तर पछिल्लो समय डा प्रकाशरण महत, बहादुरसिंह लामा र रमेश महतको समूह कांग्रेस नुवाकोटको सत्तामा आएपछि केसी समूहमाथि निषेधको अभ्यास गरिरहेको छ ।

क्षेत्रीय कमिटीले केसी समूहलाई निषेध गरेर केन्द्रीय सदस्य बहादुरसिंह लामासहित अन्य दुई जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरेको छ । बैठकले लामासहित राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाङको नाम सिफारिस गरेको हो । यस्तै अर्जुनरसिंह केसीको नाम भने समानुपातिकमा सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर १ मा पनि नुवाकोट कांग्रेसको पछिल्लो निर्वाचनमा ६ मतले पराजित भएका डा केदारनरसिंह केसीले टिकटमा दाबी प्रस्तुत गरेका थिए तर उनी पनि सिफारिसमा परेनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०८:००