१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिशुली अस्पताल अब ‘हव अस्पताल’, बहु विशेषज्ञ सेवाका लागि सम्झाैतामा हस्ताक्षर


२४ साउन, नुवाकोट । नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पताल अब ‘हव अस्पताल’को रूपमा विकास गर्ने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डित, निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अनिल श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ पनि उपस्थित रहेका थिए ।

योसँगै इन्स्टिच्युटले वार्षिक २ करोड ४० लाखका दरले ४ वर्षमा १० करोड रूपैयाँको विभिन्न सहयोग गर्नेछ । जनशक्ति, औजारउपकरण, भौतिक पूर्वाधार र तालिमका लागि इन्स्टिच्युटले सहयोग गर्ने त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले दैनिकीलाई जानकारी दिए ।

अस्पतालबाट प्रदान गरिने बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई यो सम्झौताले सुनिश्चितता गरेको मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले बताए । अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति, उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गरिने उनले बताए ।

त्रिशुली अस्पतालले यसअघि सेकेन्डरी ‘ए’ लेभलको सेवा प्रदान गरिरहेकोमा उत्कृष्टता हाँसिल गरिरहेकोमा अब बहु विषेशज्ञ सेवामा पनि उत्कृष्टता हाँसिल गर्ने डा पाण्डेले विश्वास व्यक्ति गरे । उनले गुणस्तरीय सेवाको निरन्तरतामा आफू लागि परेको बताए ।

त्रिशुली अस्पतालमा पछिल्लो समय जटिल शल्यक्रिया, प्रयोगशालामा कल्चर सेवाका साथै स्वास्थ्य बीमा, समाजिक सेवा इकाइ तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको छ । पछिल्लो पटक डायलासिस, एचडियु, आइसियुलगायत सेवा पनि सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १४:०२