२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवाको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग


७ साउन, काठमाडाैँ । नेपाल डेन्टल एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव लगायत उच्च तहका पदाधिकारीहरुलाई भेटेर ५/१०/१५ बेडका आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गम्भीर त्रुटि भएको भन्दै ध्यानाकर्षण गराएको छ । स्वीकृत दरबन्दीमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी राख्ने कुरा नसमेटिए पछि एसोसिएसनले मन्त्रीको ध्यानाकर्षण जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीहरुले नै झुटो आश्वासन बाँडेर गुमराह पारेको एसोसियनका डा हरिप्रसाद ओलीले बताए । उनले भने ‘टेबल ठटाउनेका कुरा सुनेर डर, त्रास, धम्की, प्रलोभन के-केमा परेर जथाभावी दरबन्दी राखिदिने, अनि हामीले नम्र, शिष्ट व्यवहारमा कुरा राख्दा चाहिँ हामीलाई आश्वासन मात्र दिने काम स्वास्थ्य मन्त्रालयको उच्च कर्मचारीबाट भएको छ, स्वास्थ्यमन्त्रीलाई हामीले त्यही ध्यानाकर्षण गराएका हौं, कर्मचारीतन्त्रले त गरेन, जनप्रतिनिधिले त जनताको बारेमा पक्कै सोच्नेछन् भन्ने हाम्रो विश्वास अझै कायम छ।’’

दन्त चिकित्सकको उत्पादन पर्याप्त भैसकेको भए पनि अझै पनि कतिपयम भने चिकित्सक छैनन् भन्ने भ्रम देखिएको एसोसिएसनकी डा खिलासा पोखरेलले बताइन । उनले भनिन्, ‘हामीलाई साथीहरुबाट ठूलो दवाव आइसकेको छ, अझै पनि डेन्टल डाक्टरहरुको समुह सानो छ भन्ने सोच्ने धेरै छन्, तर अहिले एनडीए कै शाखा कार्यालय १६ जिल्लामा विस्तार भइसक्यो , हाम्रा विभिन्न १२ वटा विशेषज्ञ सोसाइटी हरु पनि छन्, चार हजार भन्दा बढी दन्त चिकित्सक अब मन्त्रालय घेर्न आउँदै छन्।’

चिकित्सकहरूले केहीदिन भद्र रूपमा ध्यानाकर्षण गराउने र मागको सुनुवाइ नभए अान्दोलन गर्ने चेतावनी दिएका छन । राज्यले वार्षिक ५०० दन्त चिकित्सक उत्पादन गरे पनि दक्षता अनुरूपको सेवा गर्ने स्थान नदिएको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १५:५८