१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शान्ति सेनाको काम निष्पक्ष हुनुपर्छः उपप्रधानमन्त्री पोखरेल


१८ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रसंघीय शान्ति सेना अन्तर्गत लेबनानमा तैनाथ बरख गणका सकलदर्जालाई सम्बोधन गर्नुभएको छ । शान्ति मिसन अन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिदैं पोखरेलले तैनाथी मिसनको म्यान्डेट अनुसार दिएको जिम्मेवारी दृढ र कुशलतापूर्वक सम्पन्न गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिनुभयो ।

६२ बर्ष पुरानो लेवनानस्थित युनिफिल मिसन नेपाली सेनाको सवैभन्दा पुरानो मिसन हो । राष्ट्रसंघले तोकेको जिम्मेवारीमा रहेर लेवनानको राजनीतिक संकट अन्त्य गर्न निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै पोखरेलले नेपाली सेनाको अद्वितीय गुणबाट लेवनानका जनता, सरकार र संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको समेत विश्वास र भरोसा आर्जन गर्न सफल भएको बताउनुभयो ।

गैर सैनिक व्यक्तिहरुको सुरक्षा नै शान्ति सैनिकहरुको प्रमुख जिम्मेवारी भएको उपप्रधानमन्त्री पोखरेलको भनाई थियो । ‘हरेक शान्ति सैनिकको प्रमुख जिम्मेवारी भनेको गैर सैनिकहरुको सुरक्षा नै हो’, उहाँले भन्नुभयो–‘तपाईहरुले गर्नु भएको पट्रोलिङ्ग, चेकप्वाईन्ट, ओपी डिउटी र जनहितका कार्यहरु समग्रमा गैर सैनिक व्यक्तिहरुको सुरक्षा नै हो ।’ हाल लेवनानमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरी कूल ५ हजार ५ सय ८ फौज तैनाथ छन । संयुक्त राष्ट्रसंघबाट अनुरोध भएमा नेपाल सरकारले नेपाली सेनाको हालको संख्यालाई दोब्बर गर्न सक्ने नीतिगत निर्णय भईसकेको उक्त अवसरमा पोखरेलले बताउनुभयो ।

मिसनको म्याण्डेटलाई बुझेर कार्यान्वयन गर्नुमा नै मिसनको सफलता अडिएको बताउदै उहाँले जिम्मेवार क्षेत्रभित्रका स्थानीय जनतासँगको व्यवहार, सुरक्षाको प्रत्याभूति र जनहितका कार्यहरुले मात्रै स्थानीय जनताको विश्वास जित्न सकिने बताउनुभएको थियो ।

नेपाली गणको तैनाथी संवेदनशील ईलाकामा भएकोले हुने कामकारबाहीमा निष्पक्षता हुनु जरुरी भएको रक्षामन्त्रीको भनाई थियो । ‘नेपाल स्वतन्त्र परराष्ट्र नीतिको पक्षधर भएको कारणले पनि हाम्रो लगाव दिएको जिम्मेवारी प्रति हुनु जरुरी छ । हाम्रो झुकाव कुनै पनि देश वा समूहसंग हुनु हुंदैन ।’ उहाँले भन्नुभयो–‘हाम्रा व्यक्तिगत व्यवहारका लक्ष्मण रेखाहरु कोरिनु आवश्यक छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ०६:४८