२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

एमालेले स्थानीय चुनावमा पराजय व्यहोर्नुका मुख्य चार कारण


(नेकपा (एमाले) अन्तर पार्टी निर्देशन (अपानि ) ४ मा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको समिक्षादेखि आगामी चुनावको रणनीतिसम्म प्रस्तुत गरेका छन । ओलीले अपानिको १ नम्बर बुँदामा स्थानीय चुनाव २०७९ को सामान्य समिक्षा उल्लेख गर्दै त्यसको ‘ज’ मा अपेक्षित परिणाम प्राप्त हुन नसक्नुका मुख्य कारणहरु उल्लेख गरेका छन ।  -सम्पादक)

अपेक्षित परिणाम प्राप्त हुन नसक्नुका मुख्य कारणहरु

लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रूपमा स्थापित हुनु तर सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु भने हाम्रा लागि गम्भीर र सोचनीय विषय हो । यसको एउटै निष्कर्ष हो जनताको मनमा हाम्रो पार्टीप्रति विश्वास भरोसा र समर्थन यथावत् छ (अफ बढिरहेको छ), तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने त्यसलाई निर्वाचन परिणाममा ढाल्ने हाम्रो क्षमतामा भने गम्भीर समस्या देखापरेका छन् । यसका विभिन्न कारणहरू छन् ।

– विभिन्न कारणले हामीले कमिटी प्रणाली र सठनात्मक जीवनमा समस्याहरू भेल्दै आयौ । लामो समय अभियानमै केन्द्रित हुनुपरेको अवस्था (नवाैँ महाधिवेशनदेखि नै संविधान निर्माण, भूकम्पपीडितहरूको सेवामा स्वयंसेवक परिचालन, नाकाबन्दीको विरोध मेची-महाकाली राष्ट्रिय अभियानलगायत) रह्यो । त्यसपछि स्थानीय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा शृङ्खलाबद्ध रूपमा केन्द्रित हुनुपन्यो । पार्टी एकीकरणको तयारी, एकीकरण, त्यसलगत्तै केन्द्रीय कमिटीबाहेक सबै कमिटी भङ्ग गरिएपछि उत्पन्न कमिटीबिहीन अवस्था, कमिटी एकीकरणमा उत्पन्न जटिलता, त्यसपछि उत्पन्न पार्टीभित्रको आन्तरिक किचलो र पार्टी विभाजनको अवस्था आदिका कारण हामी लामो समयसम्म सङ्गठन सुदृढीकरण गर्ने काममा केन्द्रित हुन पाएनौ ।

यी चुनौतीलाई पार गर्दै गत वर्ष असोजदेखि मात्रै आधारभूत तहबाट शृङ्खलाबद्ध कमिटी निर्माण प्रक्रिया सुरु हुन सक्यो । समयाभाव र कमिटी निर्माणमा कतिपय असावधानीले गर्दा हाम्रा आधारंभूत कमिटीहरू जुनस्तरमा जनतासँग जोडिन सक्नुपर्थ्यो, स्थितिको विश्लेषण र त्यसलाई पार्टीको पक्षमा रूपान्तरित गर्न जति सक्षम हुनुपर्थ्यो, कतिपय ठाउँमा त्यस्तो हुन सकेन । केही ठाउँमा त पार्टीले पाएको मत पार्टी सदस्यहरूभन्दा पनि कम रह्यो, एकाध ठाउँमा कमिटी सङ्ख्या जति पनि लोकप्रिय मत हासिल हुन नसकेको जस्ता विडम्बना देखापन्यो । पार्टीको कमजोर सङ्गठनात्मक प्रणाली प्रतिकूल परिणामका लागि एउटा महत्वपूर्ण कारण बन्नपुग्यो ।

– उमेद्वार छनौटमा पनि कतिपय ठाउँमा त्रुटिहरू हुनपुगे । लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उमेद्वार बनाउन जोड दिइँदा, पार्टीले तय गरेको प्रक्रिया र पद्धतिविपरीत खास व्यक्तिलाई उमेद्वार बनाउन या नबनाउनका लागि भएका सङ्गठित लबिङले पनि केही ठाउँको परिणाम प्रतिकूल हुनपुग्यो ।

-यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरू देखापरे । आफू या आफूले सिफारिस गरेको व्यक्तिले उमेद्वारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उमेद्वारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरू देखापरे । यसमा पार्टीका कतिपय जिम्मेवार कार्यकर्ता नै सङ्लग्न भएको समेत देखियो । कैयौँ पालिका र वडामा त पालिका प्रमुख या वडाअध्यक्षलाई निशाना बनाएर मत खाली राखेर या विपक्षीलाई दिएर हराउने काम समेत भयो । पार्टीभित्र पैदा भएको यसप्रकृतिका हानीकारक र आत्मघाती प्रवृत्तिले गर्दा हामीले कतिपय पालिका र वडा गुमाएका छौ ।

-पटक-पटकका निर्वाचनमा सहभागी भएर पर्याप्त अनुभव हासिल गरेको भए पनि यस पटक हाम्रो निर्वाचन अभियानमा कमजोरी देखापरे । परिभाषित जिम्मेवारीसहित नेता-कार्यकर्ताहरूको समुचित विन्यास, प्रभावशाली मतदाताको मन जित्ने खालको प्रचार शैली, प्रभावकारी मतदाता शिक्षा, मतदाताको घरदैलोमै पुगेर मन जित्ने प्रयास र धाँधलीका सूक्ष्म रूपको अध्ययन र त्यसको प्रतिवादजस्ता कतिपय विषयमा समेत हामी चुक्न पुग्यौ । मतदाता शिक्षामा गम्भीर हुने र जनताको घरदैलोमा पुग्नेभन्दा पनि बाहिरी र प्रचारात्मक चुनावी अभियानमा बढी केन्द्रित हुनाले बाञ्छित परिणाम ल्याउन सकेन ।

सारमा, गठबन्धनको सङ्ख्यात्मक पक्ष र यसले सिर्जना गरेको मनोविज्ञान, सत्ताको चरम दुरूपयोग र होम्रा केही आन्तरिक कमजोरीका कारण हामीले अपेक्षित सिट जित्न सकेनौ । तर पनि प्रतिकूलताको बीचमा हामीले प्राप्त गरेको सफलता, उपलब्धी र सर्वोपरिरूपमा जनताको माया महत्वपूर्ण छ, जसको जगमा उभिएर हामीले आगामी निर्वाचनमा सफलता हासिल गर्नेछौ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १२:१६