२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु


२७ असार, काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई आजबाट एकीकृत कारोबार शुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।

“क“ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।

“नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

उनले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्व टेवा पुर्याउने बताए । बैंक ठूलो भए सँगै  बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए ।

“हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने ; पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले थपे ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १८:०१