१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कठमाडाैँ माथि दर्जनाै प्रश्न गर्दै करिष्मा भन्छिनः इज्जत बचाउन कट्टु फुकालेर मुख छोपे जस्तो देखियो


-करिष्मा मानन्धर

म पनि काठमाडौ रैथाने बासी हुँ !

नबुझेको कुरा लेख्दै छु !!

महानगर सफा हुनुपर्छ; सहि हो ।

हामीले आफ्ना करोडौं पर्ने जग्गा/घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्याैँ सहि हो ।

बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो ।

गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु ? त्यसमा प्रश्न छ ।

गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन, दैवी प्रकोपमा परेकाहरुकाे लागि गाँस, बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्याे समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ?

क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले ? हो ऊ आफैले गर्नुपर्ने अवस्था छ । तेसैले उसले काम गर्नुपर्छ ।

यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ ।

ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ?

जे पनि भन्न मिल्छ ?

ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।

तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन !!

हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो ।

यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।

स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ ।

मानिसहरुले/पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ ।

व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने ??

कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ??

त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला !!

बाटोमै बेचेको कपडाले तन ढाक्ने जमात पनि त छन होला ?

जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् ।

हामी मध्ये 50% प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्थामा छौँ होला !!

हरेक मानिस गुणस्तरीय जिवनको खोजिमा हुन्छ्न।

सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?

के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ??

हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो ।

हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन ?

स्थानीय तहसम्म पुगेको सरकार छ तर किन नागरिकको मनमा शहरको मोह छ ?

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ ?

गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !!

आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?

उसको आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ?

ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।

लोकप्रिय कलाकार मानन्धर नेकपा एमालेकी नेतृ हुन । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार १७:१६