२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्


३० जेठ, हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब भिड्दै छन् ।

तेस्रो संस्करणको फाइनलमा पनि घरेलु टोली र आर्मीबीच नै भिडन्त भएको थियो । त्याे संस्करणमा आर्मीले घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो । सेमिफाइनलमा आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय युथले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो वर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोलीले नै जितेको थियो ।

आइतबार भएको ‘प्रि-म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । आर्मीका कप्तान भरत खवासले घरेलु टिमसँगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए ।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेन्डर पेपेले दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकाले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकाले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए । विजय युथका कप्तान अशोक बरालले १२ महिनै ट्रेनिङ गरिरहने आर्मीसँग खेल्न सहज भने नहुने बताए ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ११:२९