२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सम्पति बिवरण सार्वजनिक नगरी चार मन्त्री विदा, ८ महिनामा के गरे ?


२३ जेठ, काठमाडाैँ । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिने भएका हुन् ।

जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् ।

यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन् । मन्त्रीहरू सबैले सम्पत्ति विवरण बुझाएको भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिबरण सार्वजनिक भने गरेन । नेकपा (एस)ले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्दै फुल मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवार दिइएको छ ।

सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन् । देउवा सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मासहित नेकपा एसका पाँच जना मन्त्री रहेका छन् ।

८ महिना मन्त्री भएका समाजवादीका मन्त्रीहरूले काम केही नगरे पनि सम्पत्ति विवरण समेत सार्वजनिक नगरेर पदको गरिमा गुमाएका छन । उनीहरूले उल्लेखनीय काम पनि केही गर्न सकेनन् । प्रेम आले, कृष्णकुमार श्रेष्ठ र बिरोध खतिवडा त नियुक्तिको भोलिपल्टदेखि नै कुनै न कुनै विवादको घेरमा रूमल्लिरहे भने जाँदाजाँदै रामकुमारी झाँक्रीले पनि फोहोर व्यवस्थापनको काम अस्तव्यस्त बनाउन भूमिका खेलिन । न्युजकारखाना

मन्त्रीहरूले बुझाएको बिबरण प्राप्त भएको तर सार्जनिक नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइडमा अपेडेट गरिएको छैन । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १०:००