२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

-तीर्थ भटृराई

नेपाली पत्रकारिता र वौद्विक जगतमा अहिले एकदमै चर्चामा रहेको र हरेक जसो पत्रपत्रिका, अनलाइन, टेलिभिजन लगायतमा छाएको विषय हो स्थानीय तहहरुले आफ्ना गाउँठाउँमा भ्यु टावर बनाउने काम उचित हो कि होइन ? अझ कतिपय सन्चार माध्यमले त स्याल हुइयाँकै तहमा स्थानीय तहले ठीक ठाउँमा लगानी नगरी लहडका भरमा भ्यू टावर ठड्याएका छन् भन्ने आशयका लेख, समाचार र प्रतिक्रिया छापेका मात्र होइनन् कि कथित विज्ञहरुका बहस नै चलाएका छन् भने स्थानीय तहहरुको धज्जी नै उडाएका छन् ।

विचरा स्थानीय तहहरु अलिकति भएको वजेटले गाउँमा केही स्मरणीय काम गरुँ भनेर बल्ल बल्ल निर्माण सम्पन्न भएको भ्यू टावर उद्घाटन गर्न सफल भएको खुशीयाली मनाउन पाउनु त कहाँ हो कहाँ उल्टै सत्तोसराप पो खान बाध्य छन् !

नेपालको नियति नै यही हो । यहाँ काजी भीम मल्लले देशका लागि राम्रो काम गरे वापत मृत्यु वरण गर्नु पर्छ । भिमसेन थापाले शहादत पाउनु पर्छ । त्यसैले नै नेपाललाई सतिले सरापेको देश भनिएको हो । सति अर्थात भीम मल्लकी पत्निले पतिलाई मृत्युदण्ड दिइएपछि सति जाने बेलामा यस देशमा असल काम गर्नेको कहिल्यै भलो नहोस् भनेकी थिइन् रे ।

त्यसबेला देखि नै नेपालमा राम्रो काम गर्नेको भलो भएको छैन । नेपालमा राजनीतिक अस्थिरता हुनु त्यसकै परिणाम जस्तो प्रतित हुन्छ । एउटाले केही राम्रो काम गर्न खोजेको हुन्छ अर्कोले त्यसमा भाँजो हाल्छ । एउटाले अरुण तेस्रो ल्याउन खोज्छ, अर्कोले होइन यहाँ अरुण तेस्रो त बनाउनै हुँदैन भन्छ ।

एउटाले विद्युत उत्पादन गरेर भारत वा अन्य राष्ट्रमा बेचेर व्यापार घाटा घटाउनु पर्छ भन्छ अर्कोले होइन विजुली उत्पादन गरेर भारतलाई बेच्ने होइन आफैँ प्रयोग गर्नु पर्छ भन्छ । यसो भन्नुको अर्थ त के हो भने जति विजुली हामीलाई आवश्यक छ त्यति मात्र विद्युत उत्पादन गर्नु र बाँकि खोलाको पानी आफैँ बगेर खेर जान दिनु ।

उता भारत स्वच्छ उर्जा विजुली निकाल्न नसकेर कोइला प्रयोग गरेर महँगो विजुली निकाली रहेको छ हामी छिमेकमै रहेकाहरु सस्तो विजुली उसलाई वेच्न सक्दैँनौ, र उल्टै उसबाट पो महँगो विजुली किन्छौं । भलै हामी अहिले भने विद्युत निर्यात गर्ने अवस्थामा पुगिसकेका छौं ।

हामी आफ्नो बचत रहेको विद्युत शक्ति भारतलाई वेच्न प्रसारण लाइन चाहन्छौं तर अमेरिकाले त्यो प्रसारणलाइन बनाइदिन्छौं भन्दा समेत सहायता (एमसीसी अनुदान) स्वीकार गर्न नसकेर सडकमा गाइजात्रा मच्चाउँछौं र अन्तिम अवस्थामा आएर ‘ए यो त ठीकै रहेछ त’ भनेर फेरि पास गर्न पनि भ्याउँछौं । यो हाम्रो कस्तो गाइजात्रा हो ?

धन्न प्रधानमन्त्री शेरबहादुर देउवाले दृढ अठोट लिनुभयो र सवै पक्ष एमसीसी पास गर्न बाध्य भए । नेपालको यही परिस्थितिको परिपे्रक्ष्यमा म चर्चा गर्न चाहन्छु, के स्थानीय तहले गाउँमा भ्यू टावर बनाउनु अपराध नै हो त? गाउँमा भ्यू टावर बन्दा त्यो निर्जन जंगलको टाकुरा वरपरका मानिस खुशी भएका हुन्छन्, तर हामी शहरका टावर टावर (महलहरु) मा बसेर उनीहरुको खिसीट्युरी गर्छौं, कस्तो विडम्बना ….!

शहरीया पत्रकार (थानकोट काटेर वाहिर जान नसक्ने) लाई गाउँको निर्जन पाखोमा टावर बनेको सही नसक्नु भएको छ र उ नजिकमा एउटा विज्ञ भेटृाइ हाल्छ (किनभने नेपाल धेरै विज्ञहरुकै देश हो) र प्रश्न गर्छ, के यस्तो टावर बनाउनु ठीक हो ? अनि थानकोट काटेर बाहिर जान नचाहने विज्ञ पनि ट्वाक्कै भन्न भ्याइहाल्छ ‘अर्थ छैन’ । अर्थ किन छैन ? अर्थ नभइकन त त्यो टावर बनेन ।

शहरमा एउटा शौचालय बनाउन काठमाडौं महानगर जस्तालाई त निकै सोच्नु पर्ने र बनाउन हम्मे हम्मे पर्ने स्थिति छ भने गाउँले एउटा टावर त्यत्तिकै लहडमा लौ न त एउटा ठड्याइहालौं भनेर बनायो होला त ? त्यसका लागि जनप्रतिनिधिविच छलफल भएन होला, बजेट पास भएन होला, नक्सा बनेन होला, ती अनकन्टार डाँडासम्म बाटो पुगेन होला ?

अनि के हामी शहरमा बस्नेहरुले तिमीहरु ‘यो बनाउ, त्यो नबनाउ’ भन्नु पर्ने हो ? त्यसो भए संघीयताको के अर्थ ? संघीयताबाट नै गाउँलाई अधिकार दिइएको होइन ? गाउँमा सिंहदरबार गएको होइन ? सिंहदरबार गाउं जान सक्छ भने के धरहरा गाउँ जान सक्दैन ?

हाम्रा धेरै विज्ञहरुको थेगो नै छ शिक्षा, स्वास्थ्यमा पो खर्च गर्नुपर्छ, सिँचाइमा पो खर्च गर्नुपर्छ । यसको अर्थ पर्यटनमा गर्नु पर्दैन भन्ने पो हो कि ? भत्केका पाटीपौवा, पोखरी पनि बनाउनु पर्दैन भन्ने पो हो कि ?

कतिपयले भन्ने गरेको सुनियो अग्ला डाँडामा दृश्यावलोकन गर्न भ्यू टावर नै चाँहिदैन । उनीहरुलाई धेरै बर्ष अगाडि देखि नै भक्तपुरको नगरकोटमा भ्यू टावर भएको थाहा थिएन कि ?

एकजना विज्ञ भन्दै थिए, चीनका संघाइ, वेइजिङ्मा पनि टावर छन् तर त्यहां त स्कूल, अस्पताल आदि सबै कुराको सुविधा भएपछि मात्र बनाइएको हो । त्यसो भए के धरहरा पनि वीरअस्पताल बनेपछि मात्र बनेको हो ? के धरहरा अहिले नेपालको धरोहर होइन ?

यी विज्ञहरुले बुझपचाएका होइनन् भने पक्कै पनि यिनीहरुले पूर्वमा भेडेटारको नाम सुनेको हुनुपर्छ र शायद भ्रमण गरेको पनि हुनु पर्छ । त्यहाँ पनि एउटा टावर छ, जहाँ वेलायतका राजकुमार चाल्र्स पनि पुगेका हुनाले सो ठाउँलाई चाल्र्स पोइन्ट भनिन्छ । धनकुटाको भेडेटारको पर्यटन र त्यसले बढाएको व्यापार र सृजना गरेको रोजगारीबारे के तिनीहरुलाई थाहा छैन होला र ?

त्यसको केही तल धनकुटाको एउटा अनकन्टार ठाउँको लुकेको झरनालाई विकास गर्दा त्यहाँ तराईका सुनसरी, मोरङ, झापा मात्र होइन देशका विभिन्न भागबाट समेत मानिसहरु पुग्ने गरेको उनीहरुलाई थाहा छैन होला र ? यी कुराले भेडेटार र नमस्ते झरना वरपरका जनतालाई के फाइदा दिएको छैन होला ?

त्यसैले यी तथाकथित विज्ञहरुलाई होइन, जनताका जनप्रतिनिधिहरुलाई थाहा हुन्छ सम्बन्धित ठाउँमा के आवश्यक छ भनेर । केही सन्चार माध्यमले केही स्थानमा बनेका भ्यू टावर उद्घाटनलाई लिएर भ्युटावर उद्घाटन गर्ने प्रतिस्पर्धा भनेर अवमुल्यन पनि गरे । एउटाले भ्यू टावर बनायो भने अर्कोले बनाउनै नहुने हो र? स्थानीय तहले आफ्नो भौगोलिक अवस्था, पर्यटनको सम्भावना आदि कुराको आकलन गरेर नै भ्युटावर बनाएको हुन्छ ।

यसमा प्रतिस्पर्धाको के कुरा ? फेरि राम्रो कुरामा प्रतिस्पर्धा नै गरे भनेपनि कसरी आपत्तिको कुरा हुन सक्छ? पहाडको रोल्पा होस् वा तराईको तिलोत्तमा उसले आफ्नो अवस्था हेरी भ्यु टावर बनाउनुमा के आपत्ति ? रोल्पा र तिलोत्तमाले आपसमा प्रतिस्पर्धा गर्नु पर्ने हो र ? के ती स्थानीय तहले आफ्नो क्षेत्रको पर्यटनको विकास कसरी हुनसक्छ, कोही पर्यटक आउन नसक्ने ठाउँमा पनि कसरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर केही काम गर्न नहुने हो र ?

अझ त्यसमाथि केही नेताले त ती विज्ञकै लहैलहैमा लागेर स्थानीय तहका उम्मेदवारहरुलाई आफू निर्वाचित भए भ्यू टावर बनाउँदिन भनेर प्रण गर्न लगाए भन्ने समाचार पनि पत्रपत्रिकामा पढ्न पाइयो । यो कस्तो विडम्बना हो ? आफ्नो क्षेत्रको विकास गर्दिन भनेर प्रण गर्नुपर्ने ? भोलि गाउँमा उद्यान, पार्क, पाटी पौवा, मन्दिर बनाउँदिन भनेर पनि प्रण गर्दै जाने हो कि ?

त्यसैले शहरकेन्द्रीत वौद्विकबर्गले स्थानीय तहका कुरा काटेर बस्ने नगरौं । उनीहरुले गर्न खोजेका कामलाई भाँजो नहालौं । तर यदि ती काम गर्दा अनियमितता गर्छन् भने या अवैध काम गर्छन् भने मात्र खवरदारी गरौं । काम गर्नेको भने खुटृा नतानाैँ ।

भटृराई राष्ट्रिय समाचार समितिका पूर्व प्रमूख समाचारदाता तथा वरिष्ठ कार्यकारी सम्पादक हुन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १०:०२