२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गठबन्धनको भर पर्दा धोखा भो, एक्लै चुनावमा होमिएको भए धेरै जित्ने थियाैँः माधव नेपाल


१९ जेठ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा धोखा खाएको र कम स्थानीय तहमामात्र पार्टीका उम्मेदार जितेको बताएका छन । उनले गएको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले एक्लै लडेको भए बरू धेरै सिट जित्ने अवस्था रहेको दाबी गरे ।

बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन भने कायमै रहने बताए । उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताए ।

नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:२२