१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘एमालेको गुटको पनि उपगुटका लागि मात्र स्वर्ग राष्ट्रपति कार्यालय’


२३ फागुन, काठमाडौँ । देशमा राजतन्त्रको समाप्तिपछि गणतन्त्र स्थापनाको लामो समय भैसकेको छ । यद्यपी राजतन्त्रको झल्को दिने काम राष्ट्रपति कार्यालयबाटै हुने गरेको छ । प्रथम राष्ट्रपति डा रामवरण यादवको कार्यकालको अन्त्यतिरबाट सुरु भएको राष्ट्रपति कार्यालयको दरबारिया शैली विद्या भण्डारीको पहिलो कार्यकालभरी रह्यो । राष्ट्रपति कार्यालयको दरबारिया शैलीबाट त्यहाँ पुग्ने हरेकजसो मानिस पीडित बनेका छन ।

नेकपा एमालेले गएको मध्यराति वाम गठबन्धनका तर्फबाट विद्या भण्डारीको उम्मेदवारीमा समर्थन गर्ने निर्णय गरेपछि बुधबार बिहान एमाले उपाध्यक्ष बामदेव गाैतमका प्रेस सल्लाहकार समेत रहेका प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले फेसबुकमा एउटा पोष्ट गरेर अबको कार्यकालमा कार्यालयको दरबारिया शैली परिवर्तन गर्न आग्रह गरेका छन । सुवेदीको उक्त पोष्टबाट राष्ट्रपति कार्यालयको व्यवहारबाट उनी आजित भएको बुझ्न सकिन्छ । उनले राष्ट्रपति कार्यालय पार्टीको एउटा गुटको पनि उपगुटका लागि मात्र स्वर्ग बनिरहेको बताएका छन ।

सुवेदीले लेखेका छन ‘उहाँ राष्ट्रपति हुनु तीन महिनाअघि चिया पिएका थियौं हामीले । त्यो दिनपछि उहाँसित भेट छैन । त्यसअघि उहाँ चुनाव उठ्नुपर्ने क्षेत्रवासी भएर पनि नियमित भेट, कुरा हुन्थ्यो । अब उहाँलाई संसदीय चुनाव लड्नुपर्ने होइन । यसर्थ, उहाँका लागि हाम्रो काम पनि छैन । तर, मुलुकको राष्ट्रपति कार्यालय प्रेसमैत्री भए राम्रो हुन्थ्यो । व्यक्तिगत केही लिनिदिनु छैन । रेस्पोन्स गर्ने मान्छे छैनन् भनौं, त्यो पनि होइन । छन, तर भएको अनुभूति छैन । राष्ट्रपति कार्यालय पहिलाको दरबारजस्तो भएको छ । हामीजत्तिका पत्रकारले सामान्य रेस्पोन्स नपाउने प्रथाको अन्त्य होस् । राष्ट्रपति राष्ट्रको हो । अहिलेसम्म त्यो पार्टीको एउटा गुटको पनि उपगुटका लागि मात्र स्वर्ग बनिरहेको छ । यी कुरा सच्याउनुहोला, आगामी कार्यकालका लागि ’कमरेड’ का हैसियतले उहाँलाई बधाई ।’

विश्वमणि सुवेदीको फेसबुकमा गरिएको पोष्ट ।

राष्ट्रपति कार्यालय सम्पूर्ण नेपालीका लागि हो न कि सुवेदीले भनेजस्तै एमालेकोे एउटा गुटको पनि उपगुटको स्वर्ग । यस्ता समस्या आगामी दिनमा आउन नदिन राष्ट्रपतिको सचिवालय कुनै गुटको चश्मा लगाएको भन्दा पार्टीकै चश्मा समेत खोलेको हुनुपर्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १०:३७