१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको फेरी अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित


११ जेठ, गौर। नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेले तेस्रो नगरपालिकामा जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको निर्वाचन क्षेत्र रौतहट ३ मा पर्ने जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार कन्थमुनि जयसवालले रोमाञ्चक जित निकालेका हुन् ।

गठबन्धनको अगुवाई गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई जयसवालले ३७ मत अन्तरले पराजित गरेका छन् । गरुडामा मात्र नभई जिल्लामै लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने जयसवाललाई हराउन गठबन्धनको षढयन्त्र बिफल पार्दै एमाले उम्मेदवार जयसवाललाई जिताउन प्रभु साह सफल भएका हुन् ।

यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए ।

मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ । पूर्वमन्त्री साहकै क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पनि पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साहले गठबन्धनको उम्मेदवार जसपाकी मधुलिका पटेललाई ४९५ मतले पराजित गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १९:३९