१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अघिल्लो पटक विदुरको मेयरमा पराजित न्याैपाने यसपटक कांग्रेसको सहयोगमा वडा अध्यक्षमा विजयी


४ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका नेता लिलानाथ न्यौपाने वडा अध्यक्षमा विजयी भएका छन । उनी केही सय मत गणना बाँकी छँदै वडा अध्यक्षमा विजयी भएका हुन ।

विदुर नगरपालिकाका पूर्व कर्मचारी समेत रहेका न्यौपाने २०७४ को चुनावमा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । तर यस पटक तीन दलको बीचमा गठबन्धन भएपछि उनी वडा अध्यक्षमा चुनाव लड्न गएका थिए । न्यौपाने वडामा भारी मतान्तरमा विजयी भएका छन ।

उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका मतदाताको पनि साथ रह्यो । विदुरको मेयर र उपमेयर दुबैमा गठबन्धनका राजनलाल श्रेष्ठ र प्रभा बोगटीले अग्रता लिइरहेका छन । विदुरमा अहिलेसम्म मतगणना भएको ६ वटा वडा मध्ये ४ वटा वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

वडा नम्बर १ मा एमालेका लेनिन रञ्जित, वडा नम्बर २ मा दीपक कायस्थ, वडा नम्बर ४ मा निलमबाबुर ढुंगेल र वडा नम्बर ६ मा श्यामकृष्ण चालिसे विजयी भएका छन । त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ मा बद्री रिमाल विजयी भएका छन । विदुरमा एमालेबाट मेयरमा निवर्तमान मेयर सञ्जु पण्डितले प्रतिस्पर्धा गरिरहेका छन ।

नेकपा एमालेका नेता एवं विदुर नगरमा एमालेबाट २ पटक मेयरमा विजयी भएका ठाकुर गजुरेलको यस वडामा नेकपा एमालेको मत बिक्री भएको आरोप समेत लागेको छ । मेयरमा मात्र करिब तीन सय मत नेपाली कांग्रेसका लागि बिक्री भएको भन्दै एमालेभित्रै चर्चा हुन थालेको छ । यस वडामा एमालेका उम्मेदवार भारी मतान्तरमा पछि परेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०७:२६