दैनिकी

  • ३१ बैशाख २०७९, शनिबार २०:०७

लुम्बिनीमा तयार भयो अन्तर्राष्ट्रिय ध्यान केन्द्र, ओलीको एउटा अर्को संकल्प पूरा

–अमृत गिरी

३१ वैशाख, बुटवल । बुद्ध जयन्ति मनाउने क्रममा (केही वर्षअघि) हावाहुरीले कार्यक्रम स्थल भत्काइदियो । कार्यक्रम प्रभावित भयो र सानो कोठामा औपचारिक कार्यक्रम गरि समापन भयो । त्यतिबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले कार्यक्रम प्रभावित भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, बुद्ध जयन्ति समारोह र हजारौंले एकैसाथ ध्यान गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र बनाउने घोषणा गर्नुभयो ।

नेपाली सेनाले तयार पारेको एउटा अस्थायी हलमा दुई वर्षजति बुद्ध जयन्तिका कार्यक्रम सम्पन्न भए । ठूलो सभाहल बनाउने कामको शिलान्यास गर्दै ओलीले त्यसबेला भन्नुभएको थियो–मानवताको, बुद्धत्वको, शान्तिको र ज्ञानको उदय भएको भूमिमा हजारौंले एकै साथ ध्यान गर्न मिल्ने गरी ध्यान केन्द्र बनाउने संकल्प छ ।

अहिले त्यो संकल्प पूरा भएको छ । यो वर्षको बुद्धजयन्तिका अवसरमा ध्यान केन्द्रको उद्घाटन हुँदैछ । ओलीको साकार भएको संकल्प अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर औपचारिक रुपमा पूरा भएको घोषणा गर्नुहुनेछ । ध्यान केन्द्रमा आगामी जेठ २ गतेको बुद्ध जयन्ति समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । आठ हजार जनाले एकैपटक ध्यान गर्न मिल्ने गरी ध्यान केन्द्रको निर्माण गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षू मेत्तैयाले बताउनुभयो ।

२०७५ वैशाख १७ गते बुद्ध जयन्तिको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसबेला प्रधानमन्त्री रहेका ओली र पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो । संरचना निर्माणको काम पूरा गरेर अहिले सौन्दर्यकरणका काम धमाधम भइरहेका छन् । तीन वर्षमा निर्माण सक्ने सम्झौता भएपनि कोभिडलगायतका कारणले एकवर्ष ढिलो गरी चार वर्षमा निर्माण पूरा भएको छ ।

विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहल तयार भएको शाक्यपुत्र भिक्षू मेत्तेयाको भनाइ छ । उहाँले ध्यान केन्द्रको शिल्यास गर्दा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभएको कुरा अहिले पनि झलझली याद आइरहेको बताउनुभयो । त्यसबेला ओलीले उपाध्यक्षलाई लुम्बिनी मानवताको, बुद्धत्वको, शान्तिको र असल विचारको उद्गम भएको भूमि रहेको र सोही अनुरुपको विकास गर्नुपर्ने बताउनुभएको रहेछ ।

लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उपाध्यक्ष शाक्यपुत्र भन्ते मेत्तैयाले लुम्बिनी परिसरमा गुरुयोजना अनुरुपका निर्माण भइरहेको बताउनुभयो । यद्यपि कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन् ।

ध्यान केन्द्रको उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षेत्रीले बताउनुभयो । ध्यान केन्द्रको जेठ २ मा प्रधानमन्त्री शेरबहदुर देउवाले उद्घाटन गर्ने र सोही हलमा यसवर्षको बुद्ध जयन्ति समारोह मनाउने कार्यक्रम रहेको छ ।

८ हजार सिट क्षमता भएको तर, हाललाई पाँच हजार सिट मात्रै राखेर छाता शैलीको हल निर्माण भएको छ । हलमा यसअघि गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिसकिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको कोषका योजना प्रबन्धक इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । माथितिर कमलको फुल चिटिक्क पारिएको पेन्ट गरिएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ ।

परिसरबाटै शान्तिको आभास हुने डिजाइन
ध्यानकेन्द्र अर्थात् सभाहलका संरचना त्यहाँ प्रवेश गरेपछि नै शान्तिको आभास हुनेगरी डिजाइन गरिएको छ । यहाँ परिसरमै प्रवेश गरेपछि शान्तिको प्रतीक अथवा पोजेटिभ भाइब्रेशन हुने सोंचका संरचनाको डिजाइन गरिएको छ । सकारात्मक सोंचको प्रतीकको चिनोको रुपमा यसको साजसज्जा र डिजाइन गरिएको कोषका योजना प्रबन्धक इन्जिनियर भट्टराईको दाबी छ । ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइनमा निर्माण गरिएको छ । यहाँ प्रयोग भएका सामग्री अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल मानिएका कम्पनीबाट समेत ल्याइएको बताइएको छ ।

हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने सक्ने गरी बनाउने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्न सक्ने गरी तयार हुनेछ भने फ्लोरमा सेतो रंगको माजाइक र चार इन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।

वातानुकूलित सभाहलको बीचको माथिको भागमा आकर्षक कमलको फुल बनाइएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको हुनेछ ।

अन्तर्राष्ट्रिय ध्यान केन्द्र अर्थात् सभाहलमा जेठ २ गतेको कार्यक्रमका लागि तयार पार्नेगरी भित्री साजसज्जा भइरहेको छ । पानीको फोहोरा हाल्ने, हरियाली सहितको फुटपाथ तयार भएका छन् । करिब एक सयवटा बुद्ध प्रतिमासहितको कलात्मक बाउण्ड्री, भित्री बाहिरी साजसज्जा, हरियाली, वाटर फाउन्टेन र एक किमी सडक निर्माणका काम अहिले पूरा भएका छन् ।

४३ वर्षमा पूरा हुँदै गुरुयोजना
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । गुरुयोजनाका काम समयमै नहुँदा उनले खिन्नता प्रकट गरेको सूचना पाएपछि केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेलामा चासो बढाउनुभएको थियो । त्यसलगत्तै तत्कालीन सरकारले लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर गर्न कोषलाई निर्देशन दिएको थियो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै ७ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको थियो ।

लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुवात भएपछि अब ४३ वर्षपछि गुरुयोजना पूरा हुने आशा पलाएको छ । लुम्बिनी विकास कोषले अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेर धमाधम काम गराइरहेको छ । लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।

गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ÷आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टाराईले बताउनुभयो ।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार २०:०७