२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

भरतपुरमा कांग्रेस नेता अनिल परियारको छुरा प्रहार गरी विभत्स हत्या


२६ वैशाख, चितवन । चितवनमा नेपाली कांग्रेसका युवा नेता अनिल परियारको छुरा प्रहार गरी हत्या भएको छ ।  भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने कांग्रेसका अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । नेपाली कांग्रेसका बागमती प्रदेशका प्रतिनिधि समेत रहेका परियारलाइ भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर अज्ञात समूहले छुरा हानेको हो ।

छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ ।

‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

यसअघि नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेलले कांग्रेस नेताको धम्कीपछि अात्महत्या गरेका थिए । टिकट पाउने कांग्रेस नेताले बारम्बार धम्की दिएका कारण झुन्डिएर आत्महत्या गरेका थिए । बागी उम्मेद्बारी दिएपछि निरन्तर धम्की खेप्दै आएका उनलाई आधिकारिक काङ्ग्रेस उम्मेदवारले दुइ दिन अपहरण गरेर समेत राखेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ११:०२