२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा


२४ वैशाख, तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उदेश्य नेपाली कांग्रेससँग छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रुपमा बचाउनु पर्छ ।’

उनले स्थानीय तह निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै हुन लागेको बताए । ‘स्थानीय तह निर्वाचन हुने माहोल बनेको छ । चुनाव हुन्छ र हुँदैन भन्दाभन्दै हुने भयो त । कसैले पत्याएका थिएनन् । गठबन्धनको एउटै उदेश्य छ स्थानीय पालिकादेखि राष्ट्रियसम्म जाने,’ उनले भने ।

उनले तनहुँमा गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन् ।

भाषणको अन्तिममा उनले फेरी गठबन्धनलाई सफल पार्न आह्वान गरे । ‘अन्तमा मलाई धेरै भन्नु पनि छैन् । आजै यहाँबाट जनकपुर जानु छ, काठमाडौँ फर्कनुछ । भोलि दाङ पोखरा जाने भएकाले धेरै बोल्न नसकेकोमा म माफी चाहान्छु । यति भन्दै फेरी पनि भन्छु म गठबन्धनलाई सफल पारौँ । गठबन्धनलाई सफल पारौँ । गठबन्धनको खिलाफमा लागेका तत्वलाई गठबन्धनलाई जिताएर दबाब दिन पनि हार्दिक अनुरोध गर्न चाहान्छु ।’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १५:२१