दैनिकी

  • २३ बैशाख २०७९, शुक्रबार ११:१७

आफ्नो पहिचान लुकाएर रेणुको हातमा कहिले सूर्यको झण्डा कहिले चारतारे

२३ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठवन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालको दोस्रो इनिङ्ग त्यति सुःखद हुने देखिदैन । ठूलो दल कांग्रेसले दिने मतको आधारमा जितको भविश्य निर्धारण हुने हुँदा रेनु र उनका बाबु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छट्पटि हुनु स्वभाविक नै हो ।

अघिल्लोपटक केही बिरोध गरे पनि चुपचाप रेनु दाहाललाई सहयोग गरेको कांग्रेसको पाको र युवापंक्ति यसपटक रेनु दाहाललाई मत नदिने भनेर लागेको छ । कांग्रेसका पुराना त्यागी नेता जगन्नाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, चर्चित अधिकारकर्मी मिना खरेलले युवाहरुको साथ लिएर विद्रोह गरेका छन् । सो समूहले महानगरको मेयरमा बागी उम्मेदवारी दिएको छ । कांग्रेस जोगाउने भन्दै विद्रोह गरेको यो समूहले कांग्रेसका तल्लो तहका नेता कार्यकर्ताको भावनाको प्रतिनिधीत्व गरेको जस्तो देखिन्छ ।

भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने विषय यसपटक कांग्रेसको तल्लो तहसम्म पुगेर निकै घोलिएको विषय हो । त्यसकारण कांग्रेसको कार्यकर्तापंक्ति स्पष्ट छ । एमालेबाट यसपटक मेयरमा लोकप्रिय नेता विजय सुवेदीको उम्मेदवारी परेको छ । अघिल्लोपटक एमालेका देवी ज्ञवाली जम्मा २०३ मतले मात्रै हारेका थिए । त्यसबेला राप्रपाको साथ एमालेलाई थिएन । तर यसपटक एमाले र राप्रपा मिलेका छन् ।

एकातिर मुख्य भर गरेको कांग्रेस भित्र विद्रोह हुनु, अर्कोतिर एमालेले सवैलाई उतिकै सम्मान गर्ने कसैसँग नराम्रो नगर्ने साझा चरित्र बोकेका सुवेदीलाई उम्मेदवार बनाउनु र एमालेले राप्रपासँग तालमेल गर्नुले सत्ता गठवन्धन धर्मसंकटमा परेको देखिन्छ ।

भरतपुरमा विकास गरेको भनेर गरिएको प्रचार एक रात परेको पानीले भरतपुरको कोर क्षेत्र (सत्ता गठवन्धनको आमसभास्थल) डुबेको सारा दुनियाँले देखेपछि रेनुको विकास के रहेछ भन्ने पनि सबैसामू छर्लङ्ग भएको छ । सत्ता गठवन्धनको विहिवार भएको भरतपुरको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका कार्यकर्ता र मतदातालाई दिएको धम्कीले कांग्रेसका मतदाता झनै चिढिएका छन् । उनको छोरीलाई मत नदिए देश दुर्घटनामा पर्ने चेतावनी दाहालले सभामा दिए । मत माग्नुको सट्टा धम्की दिएको भन्दै कांग्रेसका मतदाता रिसाएका छन् ।

२०६४ सालमा झण्डै बहुमत सदस्य जितेर माओवादी पहिलो पार्टी भयो । पहिलो पार्टी भएको उन्माद २०७० मा आउँदा तेस्रो भएर चकनाचुर भयो । माओवादीको आरालो यात्रा जारी नै छ । कुनै राजनीतिक एजेण्डा बोक्न छाडेको माओवादी अव कुन दलको साथ लिएर एकथान मेयर र सांसद बन्ने भन्ने तहमा पुगेको छ । त्यसका लागि उसले गर्ने उपियाँ उफ्राई पनि बडा उदेक लाग्दो देखिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिले कांग्रेसको साथ लगाएर जय नेपाल भन्दै चारतारे झण्डा बोक्न लगाउँछन् भने कहिले एमालेसँग टाँसिएर कम्युनिष्ट एकता भन्दै हिड्छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले आफ्नी छोरी रेनु दाहाललाई कांग्रेसको सहयोग लिएर भरतपुरको मेयर बनाए । छोरीलाई चारतारे झण्डा बोक्न लगाए ।

एउटै झण्डामा चारतारे र गोलाकार भित्रको हसियाँ हथौडा बनाएर जुनीजूनी साथमै रहने उद्घोष गरे । सोही बर्षको मंसिरमा भएको चुनावमा उनी एमालेसँग मिल्न गए । पछि एमालेकै सूर्यको चुनाव चिन्ह छातीमा टाँसेर हिडे । उनी मात्रै नभइ उनकी छोरी भरतपुर महानगरको मेयर उम्मेदवार रेनु दाहाल बाउसँगै कहिले रुख, कहिले सूर्य कहिले रुखको झण्डा बोकेर हिड्न पर्ने बाध्यतामा छिन् । यसपटक फेरी रेनु दाहाल रुखको झण्डा बोक्न बाध्य छिन् ।

एक कम्युनिष्ट पाटीको सदस्य भए विचार र सिद्धान्त नमिल्ने कांग्रेसको झण्डा क्षणिक पद प्राप्तीका लागि बोक्ने र बोकाउने यो क्रम र उपक्रम कहिलेसम्म चल्छ ? जनताले बडो रुचीपूर्वक हेरिहेका छन् । कांग्रेससमेत दुःख बोकेर कहिलेसम्म प्रचण्डले धर्मराउँदै पार्टी चलाउने हुन् ? प्रश्न अनुत्तरित छ ।

भरतपुरमा विहिवार आयोजित सभामा उनले कांग्रेसले भरतपुरमा भोट नदिए देश दुर्घटनामा जाने चेतावनी दिएर अर्को गठवन्धनतिर लाग्न सक्ने कुराको संकेत गरेको देखिन्छ । ओलीलाई प्रतिगमनकारीको बिल्ला भिराएर अहिले पनि प्रतिगमनलाई परास्त गरौं भन्दैं चुनावमा होमिएका प्रचण्ड एमसीसी पास नगरौं बरु तपाई नै प्रधानमन्त्री हुनुस् भनेर ओलीको दैलोमा धाएको एक महिना मात्रै वितेको छ । राजनीतिक फाइदा र जोडघटाउले राजनीतिक अतित्व कहिलेसम्म जोगिएला पक्कै पनि समयले देखाउने नै छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार ११:१७