२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रो च्याम्पियनसिप सेमिफाइनलमा मलेसिया र उत्तरप्रदेश तथा रुपन्देही–११ र नेपाल आर्मी भिड्ने


३० चैत, भैरहवा । शेनवार्नको सम्झनामा भैरहवामा जारी प्रो च्याम्पियन्स लिगमा रुपन्देही-११ र मलेसिया-११ सेमिफाइनलमा प्रवेश गरेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह एबाट मलेसिया, पुस स्पोर्ट्स दिल्ली र रुपन्देहीले अंक तालिकामा समान चार–चार नम्बर ल्याएपछि नेटरनरेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आज भएको पहिलो खेलमा नेपाल आर्मीले क्लबले भारतको उत्तर प्रदेशलाई सात विकेटले पराजित गर्दै समूह विजेता भएको छ । त्यसो त दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिले ब्याटिङ गर्दै उत्तर प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो ।

जसमा सुभम चौधरीले २७, राज यादव र नितिन रामले समान २१–२१ रन जोडे । आर्मीका सुशान्त भारी, जितेन्द्र मुखिया र हरि चौहानले समान दुई–दुई विकेट लिए । जबाफी ब्याटिङ गरेको नेपाल आर्मीले आठ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । उसका लागि रोहित पौडेलले ३०, भीम सार्कीले २६ र सन्तोष कार्कीले २० रन जोडे ।

अर्को खेलमा दिल्लीले रुपन्देहीलाई चार विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । विशाल विक्रम केसीले २९ र बसिर अहमदले २८ रन जोडे । दिल्लीका सबै बलरले दुई–दुई विकेट लिए ।

जबाफी ब्याटिङ गरेको दिल्लीले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो । भिसेस सरोहले सर्वाधिक २६ रन बनाए । विक्रम भुसाल र विशाल विक्रम केसीले समान दुई–दुई विकेट लिए । बिहीबार सेमिफाइनलमा मलेशिया-११ र युपी-११ तथा रुपन्देही-११ र नेपाल आर्मी भिड्नेछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १८:४४