२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

बजारबाट नेपाली रूपैयाँ हराउनुका ७ कारण


-शंकर पोखरेल

विदेश जाने नेपाली श्रमिकको संख्यामा उल्लेख्य वृद्धि भएर पनि रेमिटेन्समा कमी आउनु र विदेशी मुद्राको प्रयोग वढ्दा पनि बजारवाट नेपाली रुपिया हराउनु सामान्य कुरा होइन । यस कुराले निम्न कुरालाई संकेत गर्दछ –

१) वैंकिङ च्यानलवाट आउनुपर्ने रेमिटेन्स हुण्डि कारोवारी मार्फत विदेशमा नै रोकिने गरेको र सामान आयात गर्नेले एलसी खोलेको भन्दा वढि मुल्यका सामान किनेर ल्याउदा उक्त रकम त्यसमा प्रयोग गरेको हुनु पर्दछ ।

२) विदेशी मुद्रा अपचलन गरेर विदेशमा लैजानेले पनि त्यति नै वरावरको नेपाली रकम हुण्डि कारोवारीलाइ उपलव्ध गराएर विदेशी मुद्रा विदेशमै पाउने व्यवस्था मिलाएको हुनुपर्दछ ।

३) यस विचमा आयातमा वृद्धि हुनुमा राजश्व वृद्धिका नाममा भंसार दररेटमा गरिएको सेटिङको परिणाम हाे । भंसारमा जति सामान आयात भएको रेकर्ड छ त्यो भन्दा वढि सामान आयात भएको अनुमान गरिएको छ ।

४) बजेट भाषणमा श्रोत नखोज्ने सरकारको नीतिले पनि विदेशमा रहेको कालोधन वस्तु आयातमा प्रयोग भएको र नेपाली रुपिया उनीहरुको नियन्त्रणमा पुगेको हुनुपर्दछ ।

५) गलत उद्देश्यवाट अर्थमन्त्रालयले गरिरहेको नीतिगत सेटिङका कारणले अर्थतन्त्रमा संकट आउन सक्ने कुरा हाम्रो पार्टीले नेपाली कांग्रेससंग पहिलो पटक सम्वाद सुरुहुदाको समयमा नै राखेको थियो । त्यतिवेला हाम्रो कुरालाई गम्भीरतापूर्वक लिइएन ।

६) आजको आर्थिक संकट उत्पन्न हुनुमा सरकारको गलत नीति तथा कार्यक्रमको पनि भूमिका छ । प्रतिस्थापन विधेयक मार्फत अवलम्वन गरिएको गलत नीति, राजश्वको वारेमा अनुभव नभएको व्यक्तिलाई राजश्व सचिव बनाउनु, अनुभवी कर्मचारीलाई हटाएर अनुभवहिन कर्मचारीलाई अर्थमन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी दिनु तथा भंसार दररेटमा नियोजित रुपमा हेरफेर गर्नु जस्ता कारणहरु पनि यस संकटका कारण हुन् ।

७) आर्थिक संकटका संकेतहरु देखिन थाल्दा तदनुरुपको मौद्रिक नीति अघि सार्नुपर्नेमा राष्ट्र वैंक नेतृत्वलाई आवान्छित कार्यमा प्रयोग गर्नखोज्नु र त्यसो गर्न तयार नभए वापत गभर्नरलाई नै निलम्वनगरी हताेत्साहित गर्नुले संकट गठवन्धन सरकारको नियोजित चाल त होइन भन्ने आशंका समेत जन्माएको छ ।

अन्यथा विदेशी मुद्रा अभाव हुनेकुरा त आयातमा भएको वृद्धि भन्न सकियला । तर वैंकमा र बजारमा समेत नेपाली रुपियाको अभाव हुनुको कारण के हो ? त्यसको जवाफ नेपाली जनताले पाउनुपर्ने होइन र ?

(नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा राखेको धारणा समसामयिक भएकाले हामीले यहाँ साभार गरेका हाैँ । -सम्पादक)

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २३:२५