२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

आरआरआर निर्देशक एसएस राजामौलीले के भने नेपाली दर्शकलाई ?


१० चैत, काठमाडौं । नेपालमा त्यति धेरै साउथ इन्डियन फिल्म नचल्ने बेला प्रदर्शनमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनी मात्र नभई प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रो अर्थ आर्जन गरे ।

एक सातापछि बलिउडको ठूलो फिल्म ‘बजरंगी भाइजान’ आउँदा पनि बाहुबलीलाई असर गरेन । किनकि फिल्मलाई दर्शकले रुचाइसकेका थिए । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्‍याे ।

त्यसयता पनि नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढेका थिएनन् । बढेका थिए त केवल प्रभासका । तर, केजीएफ, साहो, पुष्पालगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । अहिले ती फिल्मका दर्शक बढेका छन् ।

भिडियो फिल्मझैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरू रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापारपछि खिलाडी, वलीमै, राधेश्याम नेपाल आइसकेका छन् । ११ चैतमा ‘आरआरआर’ आउँदैछ । नेपाली दर्शकलाई साउथ फिल्मतर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्म उत्तिकै प्रतीक्षित छ ।

भारतीय फिल्मलाई विश्वभर चिनाउने र साउथ इन्डियन फिल्मलाई बलिउडको छायाँबाट बाहिर लाने श्रेय निर्देशक राजामौलीलाई नै जान्छ । आफ्नो फिल्म निर्देशन यात्रामा सफलता मात्र नभई नयाँ प्रयोगसमेत गर्न रुचाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो ‘आरआरआर’ । फिल्ममा साउथका दुई स्टार छन्, जुनियर एन्टीआर र रामचरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिए पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन् । यति मात्र नभई बलिउड अर्थात् नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्ट ।

यति धेरै स्टारकास्ट लिएर पनि निर्देशक राजामौलीले कन्टेनलाई नै फोकस गरेका छन् । फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडि बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधनसमेत गरेक छन् । एक भिडियोमार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुनेबारे बताएका हुन् । ‘नमस्ते, सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरोतर्फबाट माया । राजामौली’ उनले भिडियोमा भनेका छन् ।

राजामौलीले भिडियो सन्देश पठाउने बेलामा नेपालमा बाहुबालीपछि साउथ इन्डियन फिल्मको दर्शक हलमा बढेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको वितरकले बताएका छन् । नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनी ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकांश शोहरू फिलिङ फास्ट छन् । फिल्मको टिकट बुकिङको सट्टा काट्नै पर्ने बाध्यता हुँदा पनि दर्शकहरू फिल्मप्रति आकर्षित छन् ।

निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । बलिउडका अजय देवगन र आलिया भट्ट पनि भएकाले यो बिग बजेटको फिल्म बनेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ११:४६