२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सन्दर्भ स्थानीय चुनावः सडक बनाउने होइन समाज बनाउने नेतृत्व चाहियो


-रामलाल श्रेष्ठ

नेपाली समाज राजनीतिक समाजमा बदलिदै छ। समाजका प्रत्येक ब्यक्तिलाई राजनीतिकरण गरिदैछ। राजनीतिक दलहरु समाजका प्रत्येक ब्यक्तिलाई राजनीतिक व्यक्तिमा बदल्ने काम गरिरहेका छन । टोल टोलमा पुगेर ब्यक्तिलाई राजनीतिक दलको सदस्यता दिने र आफ्नो दलभित्र भित्र्याउने प्रतिस्पर्धा चलिरहेको छ।

नेपाली राजनितीको मुख्य काम एउटा दलको मानिसलाई अर्को दलको मानिसमा बदल्ने काम भैरहेको छ । नेपाली काँग्रेसको मानिसलाई एमाले बनाउने, एमालेको मानिसलाई माओवादीको मानिस बनाउने, एमाले माओवादीको मानिसलाई नेपाली काँग्रेसको मानिस बनाउने। एउटा पार्टीको मानिसलाई अर्को पार्टीको मानिस बनाउने नेपाली राजनितीको मूल चरित्र भएको छ।

राजनीतिको मूल काम के हो ?

निर्वाचनको समय समाजलाई दर्शनको ज्ञान बाढने महत्वपूर्ण समय हो । आफ्नो पार्टीले बोकेको दर्शन समाजमा पु-याउने उपयुक्त समय निर्वाचनको समयमा नै हो । दलीय प्रणाली भनेको दर्शनलाई मत दिने ब्यबस्था हो । नेपाली समाजमा दर्शनलाई मत दिने परम्परा मासिदै गैरहेको छ । दलहरू भनेका दर्शनको अभिव्यक्ति हो । दर्शनको जग विनाको दल राजनीतिक दल हुन सक्दैन। दर्शनको जन्म नै राजनीतिक दलको जन्मको आधार हो। नेपालमा दलहरु बन्ने र फुटने परम्परा दर्शनको जगमा भैरहेको छैन । राजनीतिमा लागेका युवाहरूलाई दर्शन कुन चराको नाम हो त्यो पनी थाहा छैन।

दर्शन के हो ?

दर्शनको बारेमा समाजमा खासै चर्चा हुदैन। जुन समाजमा दर्शनको चर्चा हुदैन त्यो समाज अन्धकार युगमा रहेको समाज हो। समाजलाई मूलत तिन खन्डमा बिभाजन गरेर हेर्ने चलन छ।

१.प्राचिन समाज

२.मध्ययुगिन समाज

३.आधुनिक समाज

नेपाली समाज दर्शनको आधारमा मध्ययुगीन समाज भन्दा अगाडि बढन सकेको छैन । हामीसंग वेद, उपनिषद, पुराण, महाभारत, रामायण जस्ता ग्रन्थहरु प्राचिनकालमा लेखिएका ग्रन्थहरु हुन । यी ग्रन्थहरु प्राचिन दार्शनिक चिन्तनको संगालो हो । यी ग्रन्थहरु केवल बुध्दिविलासको लागि मात्र लेखिएका थिएनन । यी ग्रन्थहरु समाज संचालनको लागी आवस्यक ठानेर लेखिएका ग्रन्थहरु हुन ।

प्रत्येक युगले एउटा निश्चित दर्शन बोकेको हुन्छ। हाम्रा बेदहरू, उपनिषदहरु, पुराणहरु महाभारत र रामायण ले एउटा निश्चित दर्शन बोकेको देखिन्छ। यी सबै दर्शनको नाम भनेको आइडिलिजम (idealism) दर्शन हो। idealism दर्शन भनेको idea first matter second भन्ने दर्शन हो।

Matter is the manifestation of mind or spirit or idea. Hegel

यो पंङ्ती आइडिलिजम दर्शनको मूल पंङ्ती हो । आज यो दर्शन हेगेलियन दर्शनको नामले प्रशिध्द छ। वास्तवमा यो वेदको मूल दर्शन हो । यो ब्रह्माण्डको सृष्‍टि भन्दा अगाडि केवल ब्रह्मा अर्थात् आइडिया मात्र थियो भन्ने दर्शन हो। आइडिया यो ब्रह्माण्डको विकासको वा मेटिरियल बस्तुको आधार हो। ब्रह्म सत्य जगत मित्था भनेको आइडिलिजम हो। सन १७७० मा जर्मनीमा जन्मेका हेगेलले आइडिलिजम लाइ युरोपेली समाजमा स्थापित गरे। ब्रह्म वा आइडिया नै समाज बदल्ने मूख्य तत्व हो भन्ने दर्शन नै आइडिलिजम दर्शन हो।

यो दर्शन बोक्ने नेपाली काँग्रेस यस्को चर्चा कही कतै गर्दै गर्दैन। कुनै पनी बस्तुको पछाडि त्यो बस्तुको आइडिया वा आकार पहिला मानिसको माइन्डमा जन्मन्छ भन्ने दर्शन नै आइडिलिजम वा हेगेलियन वा वैदिक दर्शन हो। नेपाली काँग्रेसको नेपाली समाज बनाउने आइडिया के हो? यो निर्वाचनमा जनतालाई भन्न पर्दैन ? हेगेलियन दर्शन नपढीकन नेपाली काँग्रेस कस्तो समाज बनाउन अग्रसर भएको हो ?

नेपाली समाजमा कम्युनिष्टका नेताले संस्कृति साहित्यका वेद र पुराणका चर्चा गर्दा महाभारत र रामायणका पात्रहरुको चर्चा गर्दा इस्वरवादी मात्र देख्ने परम्परा किन? आइडिया भन्नु, माइन्ड भन्नु, स्पिरिट भन्नु वा ब्रह्म भन्नु वा infinite वा अनन्त भन्नू सबै आइडिलिजम नै हो भनेर बुझ्न नसक्नू नेपाली समाज आफ्नै प्राचीन दर्शन नबुझ्नू हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशरथको नाम दशवटा रथको मालिक भएको कारण नेमी राजाको नाम दशरथ रहन गएको भन्दा Science of logic बोलिरहेको भनेर नबुझेको होइन र ? हेगेलले आफ्नो दर्शन बुझाउन सन १८०७ मा लेखेको phenomenology of spirit र सन १८१२ ताका लेखेको science of logic नेपाली काँग्रेसलाई के पी कमरेडले पढाउन पर्ने ?

पस्चिमाहरूले राजनीतिलाई दर्शनको जगमा खडा गर्ने काम पन्ध्रौ सताब्दी बाटै सुरू गरे। चौधौ सताब्दी तिर युरोपेली समाजलाई आफूहरु अन्धकार युगमै रहेको महसुस गरे। मध्ययुगीन युरोप कला साहित्य संस्कृति दर्शन विहिन समाज थियो। जताततै पोप र चर्चको दवदवा थियो। विज्ञान र दर्शन कुन चराको नाम हो नामो निशान थिएन। यही विचमा इटलीमा दांते मेकायाभेली जस्ता मानिसहरू जन्मीए।

राजनीतिलाई धर्मबाट अलग्याउने काम मेकायाभेलीले गरे भने कोपरनिकस ज्ञालिलियो जस्ता मानिसले बिज्ञानको जन्म गराए । अन्ततः तीन शताब्दी सम्म दर्शनको जग खन्ने काम विभिन्न ब्यक्तिहरुले गर्दै गरे र आज युरोपेली समाज चेतनाको यो उचाइमा पुगेको छ।

समाजलाई बदल्ने राजनीतिक पार्टीले होइन । राजनीतिक पार्टीले बोकेको दर्शनले हो । दर्शनको चर्चा नगर्ने नेतृत्वले सडक मात्र बनाउछ समाज बनाउन सक्दैन। हामीलाई अब सडक बनाउने होइन समाज बनाउने नेतृत्व आवस्यक भैसकेको छ। समाज बनाउने नाममा धुले सडक, डाँडामाथि भ्यू टावर वनायर समाज बन्दैन भन्ने चेतना पहिला हुन आवस्यक छ।

समाजलाई नयाँ नयाँ आइडियाले मात्र बदल्छ भन्ने चेत दर्शनको ज्ञानले मात्र दिन्छ। आइडिया समाज बदल्ने इन्जिन हो भन्ने दर्शन बोक्ने राजनीतिक पार्टी नेपाली काँग्रेस संग समाज बदल्ने आइडिया बोकेका नेतृत्व कती छन मतदाताले हेर्नुपर्ने बिषय त्यती हो।

हेगेलको यो भनाइ अति सान्दर्भीक छ “State is the march of god on earth”. राज्य भनेको इस्वरको पृथ्वीमा यात्रा हो । आइडिलिजम बोक्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले राजनीतिक बहस गर्ने हो भने यो भनाइलाई ब्याख्या गरिदिए म आफू धेरै धन्य हुने थिए । स्थानीय सरकार भनेको एउटा राज्य हो अर्थात् नगर राज्य हो। राज्य वा स्टेट वा नगर राज्य भनेको के हो भनेर नजान्ने ब्यक्ति नगर वा पालिका प्रमूख हुन पुगे भने नगरभित्र बस्ने जनताको हालत के होला ?

आज राज्यको परिभाषा समेत नजान्ने ब्यक्ति नगर प्रमूख वा वडा प्रमूखको टीकट किन्न डौडधुप गर्दैछ। राज्य भनेको इस्वरिय गुण भएको बस्तु हो भनेर कसले बुझाउने? राज्य भनेको पुंजीपतीहरुको संचालक समिती मात्र हो भन्ने मान्यता बोकेको कम्युनिष्ट लाइ राज्य भनेको इस्वरिय गुण भएको संस्था हो भनेर बुझाउने काम कस्को हो ? आउनुस स्थानीय निर्वाचन भरी दर्शनको चर्चा गरौ।

लेखक श्रेष्ठ नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य हुन । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार ०९:२५