२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

-शारदा कँडेल

समान कामको समान ज्याला यसको अर्थ भेदभाव रहित हो ।

समान हैसियतमा रहन समान अवस्थाको विकासको वातावरण पनि उत्तिकै आवश्यक हुन्छ ।

समान अवस्था सृजनाका लागि सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक वातावरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

आत्मसम्मान र अरूको सम्मान पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

तर, मेरो देशमा नारी बोल्ड देखिन अधिकांश हिरोईनहरू शरीर नाङ्गो बनाउनुलाई मान्दछन् ।

केही पीत राजनीति गर्ने महिलाहरू पुरूषहरूको उक्साहटमा राष्ट्रपति महिला भएकै कारण चरित्र हत्यागर्नमा रोमाञ्चित हुँदै उपलब्धि मान्दछन् ।

केटाहरू टाइसुट लगाएर कार्यक्रममा बस्दा बोल्ड देखिने बहानामा केहि महिलाहरू भित्री बस्त्र देखिने वान पिसमा घरका परिवारलाई समेत बिर्सेर बोल्ड देखिन तल्लिन देखिन्छन् ।

पूँजिवादी सोंचले आक्रान्त पारिएकै कारण शरिर सौन्दर्यले प्रधानता पाइरहेको र क्षमता निखार र तिखारमा गौणता जस्तो लाग्दछ ।

लैङ्गिक अनुकूलताका नाममा अनेकन कार्यक्रम भए तापनि सेवा क्षेत्रमा लागेका अधिकांश महिला कर्मचारीहरूलाई कार्यालय समय तथाकथित बोल्ड नभएका कारण अनेकन उल्झन बेहोर्न बाध्य पारिन्छ ।

कार्यालय समय अगाडि वा पछाडि कार्यालयका केहिसँग हिमचिम नगर्नेलाई सकेसम्म बेकम्मा बनाइन्छ ।

स्तनपान गर्ने कोठाको ब्यबस्था गर्न तत्पर देखिने हाकिम र जनप्रतिनिधीहरू सुत्केरी कर्मचारीलाई सकेसम्म प्रतिकूल स्थानमा सरूवा गरी आमा र बच्चाको स्वास्थ्य अवस्थाको ख्याल नगरेको अनुभूत गरेका पाइन्छ ।

संसारका महिलाहरू एक होऔँ भन्ने नाराको सट्टा अब आठ मार्चका दिन पार्टी विशेषका महिलाहरू आ-आफ्ना पार्टीका ब्यानरमा फरक फरक नाराकासाथ मार्चपास गर्नेछन् । उस्तैपरे झडप पर्न बेर छैन ।

आखिर संसारका महिलाहरूका अवस्था लगभग समान छन्।

हत्या, हिंसा, बलत्कार लगायत अनेकन हिंसाजन्य ब्यबहारहरू समानछन् ।

सबै महिलाहरूका शारीरीक अवस्था लगभग उस्तै हुन् ।

घरायसी कामका मामला र बालबच्चाका लालन पालनमा प्रविधीसँग जोडिनसक्ने अवस्थाका परिवारमा केही फरक होला ! तर आधारभूत समस्याहरू उस्तै हुन् ।

नेपालका नेतृहरूका नेतृत्वले पार्टीगत राजनीतिबाट फरक रहेर यो समान कामका लागि समान ज्याला लगायत अन्य सवाल र अन्य समसामयिक विषयलाई सामुहिक सवाल बनाई आठमार्च मनाउदा यस दिनले सार्थकता पाउनेथियो कि !

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १०:५७