२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमसीसीको दृश्यभावमा नेपाली नेताहरू


-लव प्याकुरेल

नेपालमा अहिले अमेरिकी अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे बहस केन्द्रित छ । यो बहस तल्लो तहसम्म पुगेको छ । एमसीसीबारे नेपाली नेताहरूका विचारहरू सञ्चारमाध्यमहरूमा आइरहेका छन् । यस लेखमा एमसीसीप्रति नेपाली नेताहरूको दृश्यभाव र उनीहरूको मनोवाद वा आशयबारे चर्चा गरिएको छ । दृश्यभाव एक संवेदी अनुभव हो, जसले देख्ने कार्यमार्फत वातावरणमा संवेग सिर्जना गर्छ । दृश्य संवेदना व्यक्तिको लागि सबैभन्दा महत्त्वपूर्ण संवेदना हो किनभने यसले मानिसहरूलाई बाहिरी संसारको बारेमा थप जानकारी दिन्छ ।

दृश्य सञ्चार भनेको प्रतीक र इमेजरी प्रयोग गरेर सूचना र विचारको प्रसारण हो । यो मौखिक सञ्चार (हेर्ने र बोल्ने) र गैर-मौखिक सञ्चार (टोन, शरीर भाषा, प्रतिक्रिया आदि) सँग सम्बन्धित छ । दृश्यभाव मा देख्नु वा सुन्नुलाई अस्थायी मानिन्छ भने गैर-मौखिक सञ्चार स्थायी हुन्छ । अर्को शब्दमा, मानव स्वभावमा जुन मनोविकार, वासना वा संस्कार रहेको हुन्छ त्यो कहिल्यै दमित हुँदैन । यीभाव मानवमनमा बीजका रूपमा चिरकालसम्म स्थीर र अविचलित भएर बसेको हुन्छ ।

यो पङ्तिकार विगत दुई दशकदेखि नेपाली गैर–काल्पनिक चलचित्रमा सक्रिय ‘सम्पादक’ हो । जसले मुख्यतया दृश्य प्रकृतिका कार्यहरू सिर्जना गर्दछ । दृश्यको मूल्य र भावनाको गठनका लागि एउटै रिललाई बारम्बार हेर्दा, सम्पादकले चरित्रसँग घनिभूत अन्तरक्रिया गर्छ, साथसाथै पात्रको अभिव्यक्ति हेर्छ, सुन्छ र तिनीहरूको शारीरिक भाषा, प्रतिक्रिया र प्रवृत्ति पहिल्याउँछ ।

अवधारणा दृश्यः

२०७७ माघ २२ गते प्रचण्ड-नेपाल समूहले तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध देशव्यापी आमहड्ताल आव्हान गरेका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आमहड्ताल सफल बनाउन पम्फा भुसाल (हाल उर्जामन्त्री) ले नेतृत्व गरेको ललितपुर ‘आर्क’ पुगे । चिउरा र चाउचाउ खाए । हड्तालीहरूले ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले तत्काल त्यो नारा प्रयोग नगर्न निर्देशन दिए । उद्घोषकले एउटै नारा दोहोर्‍याएपछि ‘प्रचण्ड’ ढिला भएको भन्दै हिँडे ।

भाइरल भएको भिडियोले नेताहरूको मुखौटा उध्रिएको रूपमा बुझेपछि प्रचण्डले भोलिपल्ट बिहान एक कार्यक्रममा स्पष्ट पार्दै भने, ‘यो एमसीसीको समर्थनमा होइन, अहिलेको समयमा दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा त्यसो गरिएको हो ।’ २०७८ पुस ४ गते यक्ष प्रश्नसँगको अन्तर्वार्तामा प्रचण्डले भने, ‘एमसीसी आवश्यक परिमार्जन, स्पष्टीकरण र संसोधनसहित पारित गर्नेमा माओवादी–केन्द्रमा कहीँ बिमती छैन ।’ एमसीसीविरुद्ध उभिएका सोही पार्टीका नेता देव गुरुङलगायतको सन्दर्भमा भने प्रचण्डले ‘त्यो पार्टीको संस्थागत धारणा नभएको’ भनी प्रष्ट्याएका छन् ।

२०७७ मंसिर १५ गते प्रचण्ड–नेपाल समूह र ओलीको बढ्दो द्वन्द्वबीच एमसीसी परियोजनाबारे टिप्पणी गर्दै प्रचण्डले भनेका थिए, ‘अध्यक्ष ओली नेपालको राष्ट्रिय हित र सुरक्षाप्रति गैरजिम्मेवार हुने प्रवृत्तिको द्योतक हुन् ।’ आरोपको लिखित खण्डन गर्दै ओलीले भने, ‘एमसीसी हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले कार्यान्वयन गरौं भनेर अगाडि बढाउन कोशिस गर्ने चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी ?’ ओलीले अघि भने, ‘प्रचण्डले नेतृत्व गरेको माओवादी–केन्द्र र कांग्रेस गठबन्धन सरकार हुँदा हस्ताक्षर गरिएको यो परियोजना तत्काल कार्यान्वयन गर्नुपर्छ ।’

२०७८ श्रावण २६ गते संसदमा विपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्दै नेकपा (एमाले) अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘एमसीसीको फाइल सभामुखको टेवलमै छ’ भनी सम्झाएका छन् । ओलीले अघि भने, ‘१ सय ६५ सांसदबाट विश्वासको मत पाएकाले पारित गर्ने जिम्मेवारी सत्तारुढ दलको हो ।’ एमाले विपक्षी दल बनेसँगै अहिले अध्यक्ष ओलीले सत्ता बहिर्गमनसँग एमसीसीको संसदीय अनुमोदन हुने शर्त राखेका छन् ।

२०७८ पुस ११ गते प्रतिपक्षी दलमा हुँदा एमसीसीबारे बोल्न नचाहने नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएपछि माओवादी–केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘एमसीसी राष्ट्रघाती भन्नुभयो, मैले त राष्ट्रघाती कहीँ पढेको छैन,’ देउवाले अघि भने, ‘म नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै ? एमसीसीले सित्तैमा पैसा दिने भन्छ, नेपाली कानुन मान्छ । एमसीसी नेपालको हितमा छ ।’

यहाँ हाम्रा आँखाहरूले एकैबीच दुईको भिन्नता पहिल्याउँछ । एक सुसंगत दृश्य सञ्चार सिर्जना नहुनु भनेको दृश्य तत्वहरूमार्फत नेताहरूको ‘ब्रान्ड’ सञ्चार हुनु हो । यसको मतलब यो होइन कि राजनीतिको लागि उत्तम छ । सामान्यतया प्रयोक्तिपूर्ण रूपक अभिव्यक्तिलार्इ अस्पष्ट, भ्रामक र भ्रमितको गलत अमूर्तताको प्रयास भनी बुझिन्छ । देखिनु र देखाउनु दुई फरक कुरा हुन् । एकैबीच सत्तारूढ हुँदा अपेक्षाकृत र विपक्षी हुँदा प्रतिकूल वा अनुपयुक्त नेपाली राजनीतिको स्वार्थी कट्टरवाद र प्रचारको बजारीकरण बढेको रूपमा बुझ्न सकिन्छ । नेपाली राजनीतिज्ञ र नेताहरू विशेष घटना वा परिस्थितिलाई सामान्यतया शक्तिशाली र गोप्य षड्यन्त्रको परिणामको रूपमा व्याख्या गर्छन् ।

यो नेपाली राजनीतिमा व्याप्त ‘षड्यन्त्र सिद्धान्त’को परिणाम हो । यसको शुद्धता मूल्याङ्कन गर्न असमर्थ व्यक्तिहरूले महत्त्वपूर्ण राजनीतिक घटनाहरू वा आर्थिक र सामाजिक प्रवृत्तिहरूको बारेमा भ्रामक कथाहरू उत्पादन गरिरहेका छन् । यद्यपि, ‘शंकाको सुविधा’ वैज्ञानिक निष्कर्षहरूको लागि प्रयोग गर्न भने सकिन्छ । शंकाले हामीलाई खुल्ला सोंच राख्न र हाम्रो हितको पक्ष र विपक्षमा प्रमाणहरूको मूल्याङ्कन गर्न प्रोत्साहन दिन्छ ।

संकेतक दृश्यः

२०७८ भाद्र २० गते नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौतालाई ‘हस्तक्षेप, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरुद्ध’ भनेर अर्थ्याएका छन् । एमाले अछामका नेता कार्यकर्ताको अर्को एक कार्यक्रममा उनले भने, ‘भारतमा अंग्रेजले इस्ट इन्डिया कम्पनी खोलेको तरिकाभन्दा एमसीसी खतरनाक छ । आज अस्थीर राजनीतिको घडीमा यसलाई समर्थन गर्ने षड्यन्त्र भइरहेको छ ।’

एमसीसीबारे यहाँ उठेको केन्द्रीय प्रश्न ‘राष्ट्रवाद’ हो । नेपाली राष्ट्रियतालाई विभिन्न राजनीतिक लक्ष्य र विचारधाराका आधारमा विभिन्न दृष्टिकोणबाट बुझ्न सकिन्छ । पहिलो रूढीवाद (राष्ट्रिय रूढिवादी र दक्षिणपन्थी लोकवाद) वा समाजवाद (वामपन्थी राष्ट्रवाद) र दोस्रो आधुनिकतावादी विचारधारासँग सम्बन्धित छ । पहिलो विचारधाराको नेतृत्व वामपन्थीहरूले ‘कट्टरपन्थी राष्ट्रवाद’ को रूपमा गरेका छन् । वामपन्थीहरूले मानिसहरूलाई गहिरो महसुस गर्ने गरी भनिरहेका छन्; बाह्य धम्कीहरूले राष्ट्रवादमा यति शक्तिशाली प्रभाव पार्छ कि तिनीहरू एक राष्ट्रका लागि खतरा हुन् ।

राष्ट्र भनेको साझा भाषा, भूभाग, आर्थिक जीवन र साझा संस्कृतिमा प्रकट हुने मनोवैज्ञानिक श्रृङ्खलाको आधारमा बनेको ऐतिहासिकरूपमा गठित स्थीर जनताको समुदाय हो । यसर्थ, आधुनिकतावादीहरूले तर्क गर्छन् कि; ती जनताले सफलतापूर्वक खतराहरूलाई पराजित गर्न सक्छन् ।

उपरोक्त परिदृश्यमा देखिएको भिन्नता र नेपालका नेताहरूको मानसिकता वा नियतलाई विवेचना गर्दा एमसीसीप्रतिको राजनीतिक अभिप्राय भनेको ‘चुनावी प्रोपोगाण्डा’ हो । प्रभुत्ववादी नेपाली राष्ट्रवादलाई राजनीतिक लफ्फाजीमा परिणत गरी अमेरिकी साम्राज्यवादको हौवा सिर्जना गरेर राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरूमा जोश भर्ने प्रयास गरिरहेका छन् । यस बिन्दुमा, जनताको तर्फबाट अलिकति सचेत प्रयासको साथ, सुरक्षित र सही दृश्य अन्तरक्रिया आवश्यक छ, जसले हामीलाई हाम्रो वरपरको संसारको व्याख्या गर्न र खराब नियतहरू पहिचान गर्न सक्षम बनाउँछ । प्रभावकारी दृश्य सञ्चारले नेताहरूलाई जनतासँग ठोस सम्बन्ध बनाउन मद्दत गर्दछ, त्यसैले उनीहरू ‘सरल र स्पष्ट’ हुनुपर्दछ र अस्पष्टताबाट बच्न आवश्यक छ ।


परिकल्पना दृश्यः

एमसीसीले पाँच वर्षमा विकासको मोडल उपलब्ध गराउँछ । अर्कोतर्फ, हामी हाम्रो लक्ष्य र उद्देश्य अनुसार योजना छनोट गर्नेछौं । पहिलो, हिमालय क्षेत्रको बृहत्तर हितका लागि एमसीसी प्रयोग गरौं । यहाँ हिमालय चक्रपथ बनाऔं । वार्षिक २० लाख अमेरिकी पर्यटकहरू आकर्षित गरौं । यहाँका प्राकृतिक सम्पदा, सौन्दर्य, परम्परागत ज्ञान, हिमाली वातावरण, संस्कृति, कला र खनिज ‘खजाना’ हुन् ।

यसले नेपाली जनशक्तिलाई रोजगारी दिने र युवाको उडान रोकिनेछ । एक करोड युवालाई रोजगारी दिनु भनेको नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु हो । अब कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा एमसीसीको प्रयोग गरौं । तराई/मधेस र हिमाल-पहाड झुल्नु भनेको ७० प्रतिशत सीमान्त किसानहरू आत्मनिर्भर बन्नु हो । किसानको आर्थिक आम्दानी बढाउनु भनेको गरिबी घटाउनु हो । यसले देशमा आयात प्रतिस्थापन गरेर निर्यात वृद्धिमा योगदान पुर्‍याउँछ ।

दोस्रो, नेपाली नेताहरूका लागि ठूलो प्रश्न भनेको उनीहरू अपारदर्शी, अलोकतान्त्रिक, भ्रष्ट, अस्पष्ट (मानवअधिकार, विधिको शासनविरुद्ध) र जवाफदेही छैनन् भन्ने हो । कार्यपालिका र व्यवस्थापिका मात्र होइन न्यायपालिका पनि भ्रष्टाचारमा डुबेको देखिन्छ । एमसीसी परियोजनाको ‘संसदीय स्वीकृति’ राजनीतिक सुधारको द्रुत अवसर हुन सक्छ । आफ्नै सरकार र नेताहरूबाट अनुदान, सहायता र ऋण मात्र नभई राज्यको लगानीमा पारदर्शिता खोज्ने र नेपालीलाई परियोजना बुझ्ने अवसर प्रदान गर्ने यो नागरिक अभ्यासको सुरुवात हो । यो सबै अनुदान कार्यक्रमहरूको पारदर्शिताप्रति निष्ठाको एक महत्त्वपूर्ण अंग पनि हो । यसले स्थानीय र प्रदेश सरकारहरूलाई साझा विकास नीतिहरूको लागि थप जिम्मेवार बनाउँछ ।

तेस्रो, केही नेताहरूले पूर्व शंका गर्छन् कि; एमसीसीमार्फत अमेरिकी सेना नेपाल आइपुग्छ । कुनै पनि सैन्य गठबन्धन वा अमेरिकी सैन्य हस्तक्षेप सरकारी अनुमति बिना सम्भव हुँदैन । नेपाल समृद्ध, विकसित र शक्तिशाली भएमा न सैन्य हस्तक्षेप सम्भव छ, न राष्ट्रवाद कमजोर हुन्छ । हामी आफ्नै कारणले कमजोर र गरिब भएका छौं । हामी हाम्रा छिमेकीहरूलाई बदल्न सक्दैनौं, तर हामी आफैलाई परिवर्तन गर्न सक्छौं ।

विकासको रणनीतिक प्रश्नमा अर्थहीन बहस भनेको ‘खोक्रो राष्ट्रवाद’ हो । यसले हामीलाई थप परजीवी बनाउन सक्छ । एमसीसी नेपाली राष्ट्रियता वञ्चित गर्ने बिन्दु हो भन्ने भ्रमबाट मुक्त हुनैपर्छ । परिणामप्रति प्रतिबद्ध सरकार, नैतिक आचरण र इमान्दार नेता र जोश, ऊर्जा र उत्साहले भरिएका नागरिकले लोकतन्त्र र परोपकारको सफलता सुनिश्चित गर्न सक्छन् । झण्डै नौं वर्षको छलफल, अध्ययन, अनुसन्धान र बहसपछि नेपालले एमसीसीसँग ऊर्जा क्षेत्रको विकासका लागि उत्प्रेरक बन्ने र सीमापार प्रसारण लाइनमा लगानी गर्ने सम्झौता गरेको छ । यो परियोजना गल्ती सच्याउन र राष्ट्रमा महानता हासिल गर्ने माध्यम हुन सक्छ । नेपालमा एमसीसीको सदुपयोग गर्नको लागि अहिलेको समयमा सचेत र सकारात्मक नागरिक पहल आवश्यक छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार २०:२६