२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा


३ फागुन, उदयपुर । राष्ट्रिय गौरवको योजना सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि त्यहाँ उत्पादन हुँदै आएको विद्युत खेरा गइरहेकोमा सोमबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब साढे तीन वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका–४, मरुवावासीको अवरोधपछि सर्वोच्च अदालतले स्थानीयवासीलाई मुआब्जा लिएर काम गर्न दिनु भनि आदेश दिएपछि निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ दशमलव पाँच मेगावाट विद्युत् मध्ये चार दशमलव पाँच मेगावाटबाहेक सबै बिजुली खेरा गइरहेको थियो ।

सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर पर्दछ । प्रशारण लाईनम पर्ने रुख हटाउने काम सकेर विद्युत् प्रवाह ‘टेस्टिङ’ गरि सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइन व्यावसायिक प्रसारण थालिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।

२५ सेप्टेम्बर २०१६ मा ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई निर्माण थालिएको यो आयोजनाको काम ३१ डिसेम्बर २०२१ मा सक्ने गरि आठौँ पटक म्याद थप गरिएको थियो । आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको बारम्बार अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

कटारी नगरपालिका–४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिर्वतनको माग गर्दै अवरोध गरेका थिए । चैत २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग विद्युत प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । यो प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋणमा निर्माण भएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १३:०२