१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गिरिजाले बीपीकाे विचार धर्मनिरपेक्षताको समर्थन गर्दै रछ्यानमा फालेपछि…


–दीर्घराज प्रसाई

राष्ट्र निर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र, प्रजातान्त्रिक नेता बीपी कोइराला, गणेशमान सिंह लगायत राष्ट्र निर्माता र सबै योद्धाहरुको योगदान पौष महिनामा केन्द्रीत भएकाले पौष महिनाको नेपालको राष्ट्रियताको इतिहासमा ठूलो महत्व र महिमा छ ! पौष महिनामा जन्मेका गोरखाका राजा पृथ्वीनारायण शाहले एशियामा चंकिदैगएको ब्रिटिस सम्राज्यले भारतमा आफ्नो प्रभूत्व कायम गरेर हिमवतखण्ड नेपालको भूभाग माथि पनि आँखा गाड्न थालेको अवस्थामा इष्ट इण्डिया कम्पनी (ब्रिटिस)को आक्रमणबाट बचाएर विशाल नेपालको सिर्जना गर्न सकेका थिए ।

अठारौं शताब्दीको मध्येमा सम्राज्यवादी शक्ति बेलायतसँग भिड्नु सजिलो थिएन । साम, दाम, दण्ड–भेदको नीति अख्तियार गरेर फिरङ्गीबाट यस क्षेत्रलाई बिटुलो हुनबाट बचाउनु नेपालीहरुको लागि गौरवमय कुरा थियो । विक्रम सम्वत्का १२ महिनाहरु मध्येको नवौं महिना ‘पौष’ का छोटा दिन र लामो रात हुन्छन् तर नेपालको पौष महिनाको अत्यन्त ठूलो महिमा छ । पौष महिनाको प्रारम्भदेखि २७ गतेसम्म नेपालको आधुनिक इतिहासको निर्माण भएको छ ।

आधुनिक नेपालका एकीकरणका निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते भएको थियो । त्यस्तै पौष महिनामा नैं डुब्न लागेको नेपालको सार्वभौसत्तालाई बचाउन राजा महेन्दबाट पौष १ गते, नेपालको संसद भङ्गगरी शासनभार ग्रहण गरेर नेपाल बचाएका थिए । पौष १ गतेको राजा महेन्द्रको कदमको स्वस्फूर्तरुपमा नेपाल अधिराज्यका जनता तथा प्रवासी नेपालीहरु समेतले खुसीयाली मनाउँदै भारतीय विस्तारवादको बिरुद्ध घर–घरमा दिपावली गरेका थिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह ।

त्यस्तै पौष १६ गते नेपाली कांग्रेसका नेता बीपी कोइराला, वीर गणेशमान, शैलजा लगायत धेरै कांग्रैसका नेताहरु नेपाललाई भारतीय दवाबबाट मुक्त हुन नेपालको राष्ट्रियता खतरा छ भन्दै राजासँग मिलेर काम गर्न भारतबाट नेपाल फर्केका थिए । नेपालमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र तथा जनताका प्रतिनिधिहरुमा बीपी कोइराला गणेशमान सिंहलाई बिर्सन सकिदैन ।

तर २०६२ सालपछि कांग्रेस, एमाले, माओवादीका केही धातक नेताहरु विस्तारवादको गोटी बनेर अनेकतामा एकता भन्ने मूल नीतिको उपहास गर्दै २०६३ सालपछि सत्तासीनबाटै राष्ट्रिय एकीकरण र राष्ट्र निर्माताको अपमान गर्ने काम गरे । राष्ट्र निर्माताका शालिक भत्काए ।

राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइ आएको पौष २७ गतेको सार्वजनिक बिदा समेत खारेज गरेर राष्ट्रिय एकीकरणको उपहास गरे । यो निन्दनीय छ । नेपाली जनताको चासो हो संसदीय प्रजातन्त्रको माध्यमबाट राजनीतिक स्थिरता, शान्ति–सुव्यवस्था । तर ती सबै मान्यताहरुलाई तोडेर नेपालको राष्ट्रिय एकीकरणकोे सुनौलो इतिहासलाई खिल्ली उडाउन खोजिएको छ ।

पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणमा प्रेरणाको स्रोतको रुपमा आफ्नो दिव्य उपदेशमा एउटा सपनाको उल्लेख छ– ‘दुई हातमा दुई खड्ग लिएकी सात आठ बर्षकी कन्या म छेउ आइन् र मैले सोधेँ–‘ तिमी कस्की छोरी हौ भन्दा पुजारी रानाकी छोरी हुँ भनीन् र दुबै खड्ग मेरा हातमा दिइन् । खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो निल भनिन् ।

तिम्रो मनोकान्छे पु¥याइ दिएको छ ।’ मगर जातिकी ती कन्याले नैं राष्ट्रिय एकीकरणमा जग हाल्न उप्साएको कुराले नेपालको राष्ट्रिय एकीकरणको अभियानमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राम्हण लगायत कामी, दमाई, सार्की आदि जातिहरुबाट सहयोग पुग्न गएको र विस्तारै सम्पूर्ण जात–जातिहरुले आत्मसाथ गरेर सहयोग गर्न पुगेका थिए ।

यस क्षेत्रका स–साना हिन्दु राज्यहरुको एकीकरण गरेर बौद्ध अन्य धर्महरु समेतको संरक्षण गर्दै पृथ्वीनारायण शाहले चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्ड नेपालको मौलिकतालाई जीवन्त राखेकाले आज हामी विश्वमा सगौरव नेपाली भएर चिनिन पाएका छौं । पृथ्वीनारायण शाहलाई बिर्सने र उनको अपमान गर्ने नेपाली कहिले देशभक्त कहलिन सक्तैन ।

पूर्वप्रधानमन्त्रीद्धय बीपी र गिरिजाप्रसाद कोइराला ।

त्यस्तै वि.संं २०१७ साल पौष १ गते राजा महेन्द्रबाट समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो राष्ट्रवादको इतिहासमा अमर छ । २०१७ साल अगाडि विदेशीहरु नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिड्नु पर्ने वाध्यता थियो ।

राजा महेन्द्रबाट २०१८ सालमा पूर्व–पश्चिम राजमार्गको गैडाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्य भर राष्ट्र भाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलन चल्तीमा थियो र त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता गराएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बीना सर्त राजा महेन्द्रबाट धपाउने काम भयो ।

हिन्दू अधिराज्यलाई संविधानमा उल्लेख गरेर राजा महेन्द्रबाट भारत र विश्वभरका हिन्दुहरुको मनोवल उठाएर नेपालको प्रतिष्ठा बढाउने काम गरेका थिए । असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाँउमा नेपालको अगुवाई गराएका, चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु यी दुबैसँग सन्तुलित मित्रता कायम गरका, आर्थिकरुपमा नेपाललाई समृद्ध बनाउन ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराएका, शिक्षा, स्वस्थ्य, यातायात, बाटो–घाटोको निर्माण, सिंचाई, विद्युत जस्ता आधारभूत आवश्यकता परिपूर्ति र २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुद, जातिभेद र लिङ्ग–भेदको नीति तोड्ने अथक प्रयत्न गरेका र २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बीना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गराएकाले उनी नेपालमा अमर छन् ।

पुनर्निर्माणको चरणमा रहेको गोरखा दरबार ।

त्यस्तै देशभक्त राजा वीरेन्द्रको जन्म पौष १४ गते भएको थियो । राजा महेन्द्रबाट संविधानमा निरन्तरता दिएको हिन्दु अधिराज्य र राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव नेपालको प्रतिष्ठा र सुरक्षा अवधारणा भित्रका मान्यता हुन् । राजा वीरेन्द्रबाट नेपालको प्रजातान्त्रिक मूल्य र मान्यताको समर्थन गर्दै देश निर्माणमा प्रत्यक्ष रुपमा जनताको सहभागिता गराएर देशव्यापी भ्रमण गरेर हर क्षेलाई उत्पे्ररित गराउने काम गरेका थिए । बीपी कोइराला जस्ता राजा महेन्द्र र आफ्नो बिरोधीलाई औषधी उपचारको लागि खर्चको व्यवस्था गरेर अमेरिका पठाउने काम गरेको थियो ।

राजा वीरेन्द्रबाट राज्यको राजनीतिक व्यवस्थाको छनौटको लागि जनमत संग्रह गरेर विश्वमा नेपालका राजाहरुको प्रजातान्त्रिक छवि देखाउँदै नेपालका हिमाल, पहाड र तराईमा ठाउँ हेरेर विकास र निर्माणमा ठूलो भूमिका खेलेका थिए । त्यस्तै भारतमा निर्वासनमा रहेका बीपी कोइराला, गणेशमान सिंह लगायत कांगे्रसका नेताहरु पौष १६मा राजासँग मिलेर काम गर्ने सर्तमा राष्ट्रिय सहमतिको नारा लिएर नेपाल फर्केको बेला हो ।

सिक्किम भारतमा विलय भएपछि नेपालको राष्ट्रियता माथि पनि खतरा देखेर नेपाल फर्केको बेलादेखि नेपालको प्रजातान्त्रिक मामिलामा बीपी कोइराला स्मरणीय बनेका छन् । बीपीका विचार उहाँका भाइ गिरिजाले पोलेर खाएता पनि बीपी कोइरालाका विचारलाई नेपाली समाजले बिर्सिने छैन ।

२०३३ सालपछिका बीपीका प्रजातान्त्रि विचारसँग सबै पक्ष सहमत हुनसक्ने अवस्था छ । नेपाली कांग्रेसका नेता बीपीका भाइ गिरिजाप्रसादले बीपी कोइरालाका विचारलाई गणतन्त्र, धर्मनिरपेक्षको समर्थनमा लागेर रछयानमा फाले । त्यो बेलादेखि नेपालको राजनीतिमा कांग्रेस अस्ताएको छ । अव नेपाली कांग्रेस नेपालको राजनीतिमा फेरि प्रभाव जमाउन चहान्छ भने बीपी कोइराला किन २०३३ सालमा राष्ट्रिय सहमतिको नारा लिएर नेपालमा फर्के भन्ने कुरा बुझ्नु पर्छ ।

फाइल तस्बिर ।

जवसम्म कांग्रेस नेपालमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको नीति लिएर जनसमक्ष आउँदैन, कांग्रेसले फेरि सत्तामा आउन खोज्नु व्यर्थ हुनेछ । भारतमा अंग्रेजको प्रभूत्व बढिरहेको बेलामा नेपालमा यो क्षेत्रका ५४ भन्दा बढी स–साना हिन्दु राज्यलाई मिलाएर पृथ्वीनारायणहरुको प्रतिष्ठा र शाहले विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित गर्न सकेका थिए ।

नेपालमा हामी तीनथरीका बासिन्दाहरु छौं–अनादिवासी, आदिवासी र अनादीवासी । अनादिवासी भनेका वेद, उपनिषद् तयार गर्ने ऋषिमुनीका सन्तान् हुन् । ब्राम्हण, क्षेत्रीहरु र केही नेवारहरु अनादिवासी हुन् । राई, लिम्बु, तामाड, गुरुड, थकाली आदिवासी हुन् । आप्रवासीमा नेपाली नागरिकता प्राप्त मुसलमान, बंगाली, माडवारी मानिन्छन् । तर पश्चिमका इसाई राष्ट्रहरुले उचालेका कतिपय जनजातिका अगुवाहरु ब्राम्हण, क्षेत्रीहरु बाहिरबाट यहाँ आएका हुन् भन्दै भ्रम सिर्जना गर्नेहरु पनि छन् । ब्राम्हण, क्षेत्रीहरु हिमवतखण्डका अनादिवासी नभए के यो क्षेत्रमा ऋषिमुनीहरु जन्मेका थिएनन् ? वा वेद, उपनिषद्, पुराण लेखिएन ? त्यसैले कसैले पनि सत्य र तथ्यलाई बडयाउनु हुँदैन ।

खोजकर्ता इतिहासविद् योगी नरहरिनाथ लेख्छन्– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो । ’विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नैं सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद् हो । हामी यहींका रेथाने हौं, भगुवा होइनौं ।’ नेपालका तीन विशेषता छन् ।

१) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल,

२) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्ता सम्पन्न देश,

३) विश्वको एक मात्र हिन्दु अभिराज्य । हिमवतखण्ड–नेपाल भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मानसरोवर र दक्षिणमा गंगानदीसम्म हो । हिमवतखण्ड नेपाल, भारतखण्ड र विश्वका हिन्दुको पहिचान हो ।

‘नेपाल’ विश्वको एकमात्र हिन्दु अधिराज्यको रुपमा कहलिएको विश्वमा नैं आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्ब हिन्दुहरु सामू विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भएको र बुद्धको जन्मभूभि भएकाले र त्यसैको प्रभावले विश्वमा २ अर्ब बुद्धिष्टहरु हुन गएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्र स्थल बनाउन सकिन्छ ।

नेपालका महान विशेषताहरु मध्ये १) हिमवतखण्ड नेपाल सबैभन्दा पुरानो पौराणिक भूमि हो २) विश्वका सार्वभौम राष्ट्रहरु मध्ये नेपाल पुराना सार्वभौमसत्ता सम्पन्न मूलुक हो ३) नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो । गोर्खा एउटा स्वतन्त्र हिन्दु राज्य थियो ।

गोर्खा लगायत नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुर, चौदण्डी, पाल्पा, कास्की, बाइसी, चौबिसी आदि ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकृत गरी विशाल हिन्दु अधिराज्य कायम गरेका थिए । त्यसबेलादेखि हिमतखण्ड–नेपालमा थुपै्र हिन्दु राज्यका विभिन्न बासिन्दाहरुको नेपाल साझा सांस्कृतिक राट्रियता बन्न सकेको हो । नेपालमा हिन्दु, वैदिक र बौद्धको समष्टीबाट नेपाली संस्कृतिको सिर्जना हो ।

पुनर्निमार्णको चरणमा रहेको नुवाकोट दरबार ।

अतः पृथ्वीनारायण शाहका दिव्य उपदेशहरुलाई आधार मानेर राजा महेन्द्रका राष्ट्रवाद र बीपीको प्रजातान्त्रिक समाजवाद बिचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न सक्नु पर्दछ । नेपालको राष्ट्रियता र प्रजातन्त्र बीचमा राजनीतक मार्गदर्शनमा यसको विकल्प छैन ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र, प्रजातान्त्रिक नेता बीपी कोइराला, गणेशमान सिंह लगायत राष्ट्र निर्माता र सबै योद्धाहरुको योगदान पौष महिनामा केन्द्रीत भएकाले ती सबै व्यक्तित्वहरुको विचार साकार गराउन हामी सबै पक्षका नेपालीहरुको सकारात्मक सोच हुनुपर्दछ । देशका निर्माता र नेतृत्वहरुप्रति हामी सबैले मान्यता गर्नसक्यौं भने मात्र हाम्रो यो पूण्यभूमि नेपालको अस्तित्व चम्कन्छ ।

पौष २७ मा जन्मेका राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर छन्, हामी सबैका पूजनीय छन् । अव २०७८ सालको पौष महिनादेखि नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरु तथा देशभक्तहरले पृथ्वीनारायण शाहका दिव्य उपदेश, राजा महेन्द्रका राष्ट्रियताका आधार र बीपी कोइरालाका प्रजातान्त्रिक सिद्धान्तकाबैचमा समन्वय र संतुलन गरेर नेपाललाई विश्वका सामू समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउन हामी सबैले त्यसैको आधारमा अगाडि बढ्न समर्पण देखाऔं !

अतः पौष २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई हामी सबै नेपालीहरुले ससम्मान गौरवमय दिनको रुपमा काठमाण्डौंमा सिंहदरबार अगाडि अवस्थ्ति राष्ट्र निर्माताको शालीकमा र अन्य ठाउँमा शालीक भएको ठाउँमा शालीकमा तथा फोटामा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरौं ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०८:५०