२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कृषिले सुधार्दै छ सुकुम्बासीहरूको आर्थिक अवस्था


-विशाल बस्नेत

२२ मंसिर, महोत्तरी । बर्दिबास-७ पशुपतीनगरका हेमबहादुर खपांगीसग उत्पादनका लागी आफ्नै जग्गा नहुँदा जीविकोपार्जनमा नै धौधौ बनिरहेको थियो । वर्षौंदेखि गाउँ ब्लक जग्गामा बस्दै आएका खपांगीसँग आफ्नो नाममा सानो झुपडीबाहेक केही नै थिएन । तर, अहिले खपांगीजस्तै १५ घरपरिवारलाई सामुदायिक परिवार कल्याण संघ नामक एक गैरसरकारी संस्थाले स्वरोजगार बनाएर आफ्नै खुट्टामा उभिन सक्ने बनाएको छ ।

संस्थाले जमिनदारसँग करिब ३३ कट्ठा जग्गा भाडामा लिएर १५ सुकुम्बासी घरपरिवारका लागी स्वरोजगार र आत्मनिर्भर बनाएपछि अहिले जुरेटोलस्थित सुकुम्बासीहरूमा खुसी छाएकाे छ ।

जीविकोपार्जनको लागि बनिबुतो गर्न टाढा-टाढा जानुपर्ने सुकुम्बासीहरू अहिले बिहानदेखि बेलुकासम्म खेतमा नै व्यस्त हुन्छन । उनीहरूले आयाआर्जनमा वृद्धि गर्न विभिन्न व्यवसायिक खेती गरेका छन ।

‘हामीसँग जमिन थिएन, गरिखानका लागि मजदुरी गर्नैपर्ने बाध्यता थियो । तर, अहिले संस्थाले दिएको यो खेतवाट भरिपूर्ण छ । खपा‌ंगीले १५ घर परिवार सुकुम्बासीको नेतृत्व गरेका छन् ।

जुरे टोल मिश्रित कृषक समूह नामक यो समुहले अहिले खेतमा काउली, टामाटार, आलु, खुर्सानी, बोडी रोपेकाे छ । अघिल्लो वर्षको असारदेखि खेतीपाती गर्न सुरु गरेकाे यो समुहले एकपल्ट उत्पादन गरेर बजारमा बेचिसकेको छ । संस्थाले लगानी गरेबापत किसानबाट केही अपेक्षा नगरेकाे सामुदायिक कल्याण संघका कृषि प्राविधिक तथा फिल्ड अफिसर प्रकाश सुनुवार बताउँछन् ।

‘हामीले यो समूहलाई लगानी गरेबापत केही पनि मुनाफाको अपेक्षाको गरेका छैनौँ । मात्र वहाँहरूको भविष्य राम्रो होस्, खेतीवारीबाट जीविकोपार्जनमा टेवा पुगोस्,’ उनले भने ।

माटो परिक्षणदेखि कृतिम कम्पोस्ट मल बनाउन महिलाहरूलाई तालिम प्रदान गरेपछि अहिले यो समुहले उत्पादन बढाउने नाममा रासायनिक मललाई विस्थापन गराउँदै अर्गानिक खेतीपतीमा नै ध्यान दिइरहेका छन् । संस्थाले ३२ कठ्ठा जग्गाको वार्षिक एक लाख ९२ हजार अर्थात मासिक १६ हजार रुपैयाँ तिर्दै आएको छ । न्युजकारखाना

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १३:४१