२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीकाे घोषणा


१० मंसिर, चितवन । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख (मेयर) ज्ञानेन्द्र सुवेदीले एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिने घोषणा गरेका छन् ।

नेकपा एमाले प्रदेश १ कमिटी सदस्य रहेका सुवेदी महाधिवेशन प्रतिनिधि भएर चितवन आइपुगेका छन् । उनले नारायणीमा महाधिवेशन उद्घाटन हुँदै गर्दा सौराहमा सञ्चारकर्मीमाझ उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टी काम र संसदीय काम सँगसँगै गर्दै पार्टी एकताको भावनालाई समेट्दै एमालेलाई मुलुकको पहिलो शक्तिको रुपमा उभ्याउन जनस्तर भूमिका खेल्नलाई, राष्ट्रियता, पार्टी एकतालाई थप मजबुत बनाउन आफूले उम्मेदवारी दिएको उनले बताए ।

पार्टीका शीर्ष नेतृत्वसँग सल्लाहमै आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । उनले नेतृत्व चयनमा सर्वसम्मत भएमा नेताले र निर्वाचन भएमा कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने धारणा राखे ।

आसन्न निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने अवस्थामा नेता र प्रतिनिधिले ख्याल गर्नुपर्ने भन्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा बलियो बनाउन आफूले केन्द्रीय कमिटीमा रहेर भूमिका खेल्न खोजेको उनको भनाइ छ ।

सुवेदीले ३४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए । ०३८ सालबाट पार्टी राजनीतिबाट नेकपा मालेमा आबद्ध राजनीतिक यात्रा सुरु भएको थियो । पार्टीको जनपक्षीय हस्तक्षेपको नीतिअनुसार ०४२ सालको बेलबारी गाउँ पञ्चायतको प्रधान पञ्चमा उम्मेदवारी दिएका थिए ।

०४८ सालमा वडाअध्यक्ष हुँदै जिल्ला विकास समितिको सदस्य भएर लामो समय काम गरे । हाल बेलबारीको नगर प्रमुख छन् । पार्टीमा वडा कमिटी सचिव हुँदै प्रदेश कमिटी सचिवसम्म पुगेका छन् । अब केन्द्रीय सदस्य पदमा भिड्न लागेका हुन् । एमाले महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी चुनिँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १४:०४