१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्थमन्त्रीज्यू गभर्नरको धङधङीबाट माथि उठ्नुस्


–मनोज ज्ञवाली

अर्थमन्त्रीले शेयर, अटोलोन, घर जग्गा अनुत्पादक भने भनेर यस सम्बन्धमा धेरै टिका टिप्पणी र आँकलनका साथ समाचारहरु आईरहे । जुन कुनै नाैलाे कुरा नै थिएन तर चाहिने भन्दा बढी चर्चा परिचर्चा भइरहेको छ ।

लेखक ज्ञवाली ।

अाज जे कुराको प्रचार भैरहेको छ त्यो विषय नेपाल राष्ट्र बैकले परिपत्र नं १७ मा स्पष्ट पारेको धेरै समय भैसकेको छ ।  अनी फेरि पनि मानिसहरू अाजका दिनमा चर्चाका साथै त्यसैको पछि लागिरहेका छन ।

अर्थमन्त्रीले आर्थिक समृद्धिको खाका कोरुन, उत्पादक क्षेत्रमा लगानी हुने र लगानीको सुरक्षा हुने बाताबरण बनोस् यो मेरोमात्र हैन बहुसंख्यक नेपालीको चाहना हो ।

जसले  रोजगारी बढाउछ, प्रति ब्याक्ति आय बढाउछ, उधोग धन्दाहरुमा लगानी बढाउनाका साथै  ब्याक्तिहरुको आय बढ्छ, आय बढेमा लगानी र consumer loan यसै बढ्छ। आय बढेमा शेयर, घर र गाडि यसै किन्छन्।

बैकहरुको बित्तीय क्षमता बढ्छ। दायरा बढ्छ। अनि किन अात्तिनु ? हामीले छिमेकी मुलुकको मात्रै उदाहरण एक पटक हेराैँ । 

त्यसैले सेयर बजारमा पनी अर्थमन्त्रीले यसो भने उसो भने भन्दै  लगानीकर्तालार्इ अत्याउने र हताेत्साही बनाउने काम बन्द गराैँ । बाठाहरु त हर हालमा उम्किहाल्छन् तर सोझा र सिकारुहरुलाई समाप्त पार्ने खालको कोशिश नगराैँ ।

अर्थमन्त्रीको बाटो, बिजुली, कलकारखानामा लगानी गर्ने सपना पुराहोस् । हामीले लत्ता, कपडा, चामल, तेलदेखि हरेक समान आयात गरी मान्छेहरु मात्र निर्यात गरेको धेरै भो । गाँउगाँउबाट निर्यात गरिएका खुशीहरु फिर्ता गराउने विषय एउटा महत्वपूर्ण उद्देश्य बनोस ।

हामी १६% को ब्याजमा कर्जा लिएर घर किन्ने, लगानी गर्ने या गाडी चढ्ने होईन कमाईबाटै consumer financing गर्छौ तर financing resources सहज बनाईदिनुस् । घुस, बेईमानी र बदमासी बन्द गर्ने खाका तयार पार्नुस । हामी तपार्इलार्इ सहयोग गर्न तयार छाैँ ।

मैले पनि अर्थमन्त्रीको अन्तवार्ता सुने । समय सबैभन्दा बलबान छ, यसले सम्बन्ध फेर्छ, सोच फेर्छ त कसैको बोली नी फेर्छ। अब बृद्ध भत्ताको सम्बन्धमा फेरिएको बोली झै फेरिन सक्छन् भनाइहरू।

नेता पारा आयो भने जे पनी बोले भयो। हामीले अर्थमन्त्रीमा गभर्नरको अख्तियारी देख्न जरुरी छैन र उहाँ पनी गभर्नरको धङधङीबाट भन्दा माथि उठ्नु पर्छ।

हाल गभर्नर र अर्थमन्त्रीको सम्बन्ध कस्तो हुने भनेर पनि चर्चा छ। अर्थमन्त्रीले पदभार ग्रहण गर्नु पूर्व अहिलेका गभर्नरको कार्यशैली बारे गरेका टिका टिप्पणीहरुले चर्चा पाएको देखिन्छ। त्यती बेला बोलेका कुरा एक अर्थबिद्ले बोलेका कुरा हुन, आज त्यहि कुरा अख्तियार प्राप्त अधिकारीले बोलेको हुन्छ यसर्थ अब बोल्ने होइन अब निर्देशन दिने कुरामा विश्वास गर्नुपर्छ।

अर्थमन्त्रीसँग कार्यकर्ताको अभिभारा छैन न चुनावको बेला खर्च जुटाईदिने व्यापारीको गुन तिर्न नीतिगत ब्यभिचार गर्नु पर्ने बाध्यता नै छ । त्यसकारणा राम्रो लक्ष्य लिनुस् अनि पुरा गर्नुस। ज्ञात रहोस् यहाँसँग जनताहरुको अपेक्षा सगरमाथा जस्तै चुलिएको छ, निरास पार्नुहुने छैन ।

राष्ट्र बैंकको परिपत्र ।

(ज्ञवाली ज्योति विकास बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ०९:१७