२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सरकारले गति पक्रन सकेन, हामीले फेरी अर्को मौका खेर फाल्दैछौँः गगन थापा


५ कात्तिक, काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरी हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन ।

एउटा हामीले माने पनि नमाने पनि एशीया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वल्र्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । त्यसको नजिकमा हामी छौं । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यस भित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरी एक पटक मौका छुट्छ ।’

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारेका छन् ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए । नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १४:१८