१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा, देउवा र सिंहबीच प्रतिस्पर्धा हुने


१८ फागुन, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा हुने भएको छ । निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुने बताइएकाे छ।

फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने बताइएको छ ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने अनुमान गरिएकाे छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेकोे दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताएका थिए ।

काँग्रेसमा दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने बताइएकाे छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १७:३६