दैनिकी

  • २९ भाद्र २०७८, मंगलवार १७:३५

परमादेशबाट बनेकाे सरकारले दुई महिनासम्म एमाले फुटाउने काम मात्र गर्याेः ओली

२९ भदौ, काठमाडौँ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले नराम्रो काम मात्रै गरेको आरोप लगाएका छन् । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान ? यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन्,’ उनले भने ।

ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गरे । ‘सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चारजनाले र्‍याइँर्‍याइँ घुमाएका छन् । यो दुई महिना राम्रो केही गरेनन् । नराम्रोमात्रै गर्‍यो । पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयो,’ ओलीले भने ।

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलवार १७:३५