१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटको स्वास्थ्य चौकीमा भ्रष्टाचार, युनडिपीका कर्मचारी भन्छन ‘बुजिली बिना सोलार चल्दैन’


–प्रशान्तजंग पाण्डे
३२ असार, नुवाकोट । युनडिपीले सोलार खरिदमा अनियमितता गरेको देखिएको छ । नुवाकोटको बेलकोट स्वास्थ्य चौकीको निर्माणमा ठेकेदारको भूमिका निर्वाह गरेको विकास साझेदार संस्था युएनडिपीले कमसल सोलार प्रयोग गरेको पाइएको हो । गत वैशाखमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माणपछि सरकारलाई हस्तान्तरण गरिएको थियो । कोरिया सरकारको सहयोगमा स्थानीय सहभागिता सहितमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीमा राखिएको चार सय वाटको सेलारबाट दुई वटा बत्ती पनि नबलेपछि यो रहस्य सार्वजनिक भएको होे । यसअघि दैनिकीले युनडिपीका कारण बेलकोट स्वास्थ्यचौकी अन्धकार शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि दैनिकीको सम्पर्कमा आएका युएनडिपीका प्रतिनिधि अजय पौडेलले बिजुलीको व्याकअप आवश्यक हुने सोलार जडान गरिएको बताए । सोलारलाई पनि बिजुलीको व्याकअप चाहिने भए किन हाल्नु त भन्ने दैनिकीको प्रश्नमा उनले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई समेत जानकारी गराएको भन्दै बिजुलीको व्याकअपबिना सोलार नचल्ने भन्दै जग हासाउने जवाफ दिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामहरि पाण्डे बिजुली बिना सोलार नचल्ने भन्दै आफूहरुलाई युएनडिपीले ढाँटेको बताउँछन । उनी भन्छन, ‘सोलारलाई बिजुली चहिन्छ भन्नुहुन्छ उहाँहरु, म अचम्मित छु, ५० वाटको सोलारमा बत्ति बालेर टेलिभिजन समेत गाउँका मान्छेले हेरिरहेका हुन्छन तर चर सय वाटको सोलारमा दुई वटा बत्ती दुई घण्टा पनि बल्दैन । त्यो पनि एक महिनामा पुरै काम नै नगर्ने भयो ।’

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि एक महिनाको अबधिमा साँझमा कहिलेकाहीँ बत्ती बाल्ने गरेको तर त्यो पनि दुई घण्टा पनि नबलेको बतउँछन । युएनडिपीले सोलार खरिदमा भ्रष्टाचार गर्दा बेलकोट स्वास्थ्य चौकी अन्धकार बनेको उनीहरु बताउँछन ।

स्वास्थ्य चौकीमा राखिएको सोलार एक महिनामै बिग्रियो भनेर स्वास्थ्य चौकीबाट गरिएको अनुरोधको युनडिपीले एक महिनासम्म वेवास्ता गरेको थियो । सोलार र व्याट्री दुबैमा वारेन्टी भएपनि त्यो क्लेम गर्न समेत युनडिपीका प्रतिनिधिले मानेका छैनन् । त्यसकारण पहिल्यै नै बिग्रिएको सोलार र व्याट्री प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । सोलारको अवस्था र युनडिपीका कर्मचारीको व्यवहारका कारण निष्पक्ष छानविनको आवश्यकता देखिएको छ ।

गत वैशाख ११ गते स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा हस्तान्तरण भएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकाको बेलकोट स्वास्थ्यचौकीले बर्थिङ सेन्टरसहितको सेवा सुरु गरेको थियो । कोरियाली सहयोग संस्था कोइकाको सहयोगमा एक करोड भन्दा बढी रुपैयाँको सहयोगमा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकी भवनको निकै तामझामका साथ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी थिइन ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार ०९:५९