२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

नेपाल बैंकको क्रेडिट कार्ड सेवा शुभारम्भ


१५ असार, काठमाडौँ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको छ ।

भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पिओएस टर्मिनल, एटिएम टर्मिनल तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्याउने हुने विश्वास गरिएको छ ।

भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गर्नुभएको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञपित मार्फत जानकारी दिनुभएको छ । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधि मार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिनुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर ज.ब.रा.ले नयाँ बिशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना दिनुभयो । बैंकको क्रेडिट कार्ड ग्रहण गर्नुहुँदै निर्मल प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभयो । उहाँले क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

बैंक सञ्चालक समितिका सदस्यहरू, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरुको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले समेत सम्बोधन गर्नुहुँदै क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुलाई बैंकका का.मु.नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १८:५९