१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना महामारीको भूमरीमा जनता: दायित्ववोध विमुख पूर्वप्रधानमन्त्रीहरू


-डा खोमराज खरेल र हरि प्रसाद भण्डारी

आज नेपाली जनजीवन तथा अर्थतन्त्र मात्र होईन विश्वमानव र अर्थतन्त्र कोरोना महामारीको भूँमरीमा फसेको छ । करिव साढे एकवर्षको अवधिमा यो महामारीले समुद्रको आँधीबाट उत्पन्न भएको छालले जस्तै विश्व मानव जगतलाई तड्पाइरहेको छ । आजको मितिसम्म विश्वव्यापी रुपमा करिव १८ करोड मानिसहरु यो महामारीबाट संक्रमित भइसकेका छन भने करिव ४० लाखको हाराहारीमा मानिसले ज्यान गुमाई सकेका छन् ।

विश्वव्यापी तथ्यांकलाई नियाल्दा अझैपनि प्रतिदिन संक्रमित हुनेको संख्या ३-५ लाखको हाराहारी देखिन्छ भने प्रतिदिन मृत्यु हुनेको संख्या करिव १० हजारको दरमा देखिन्छ । नेपालको सन्दर्भमा कोभिड टेष्टको रिपोर्टको आधारमा आजसम्म ६ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने १० हजारको संख्यामा ज्यान गुमाउने क्रममा छन् । कोरोनाको कारणले गर्दा नेपाली अर्थतन्त्र शिथिल बन्दै गएको छ । जनताको दैनिकी जटिल बन्दै गएको कुरामा हामीसबै अवगत नै छौं ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा परेको प्रतिकूल असरले गर्दा लाखौको संख्यामा नेपालीले वाह्य तथा आन्तरिक श्रम बजारबाट रोजगारी गुमाइरहेका छन् । गरिब तथा न्यून आय भएका जनताको दैनिकी निकै जटिल बन्दै गएको छ भने व्यवसायिक क्षेत्रका क्रियाकलायहरु शिथिल भएकोले मध्यम तथा उच्च वर्गमा समेत प्रतिकूल असर परेकोले नेपाली अर्थतन्त्र संकुचनतर्फ उन्मुख भएकोछ । नेपाल इतिहासकाल देखि आजसम्म पनि आर्थिक, सामाजिक तथा साँस्कृति रुपमा नै विपन्न तथा पिछौनेपन अवस्थामा रहनुमा अहिलेका शासक मात्र दोषी नभएर अगाडिका शासकहरु पनि उत्तिैक जिम्मेवार छन् ।

विश्वका शक्ति सम्पन्न देशहरुलाई समेत कोरोना महामारीसँग जुध्न हम्मेहम्मे परेको परिप्रेक्षमा नेपाल जस्तो विपन्न देशका लागि कोरोनाको महामारीसँग जुध्नु निकै कठिन कार्य हो । नेपालमा विगतमा सत्तामा हालीमुहाली गरेका नेताहरु आफ्नो कार्यकालमा राज्यको स्रोतमा मोज गरेर समय व्यतित गरेकाहरु तत्कालीन तथा भावी देश र जनताका समस्याहरु समाधान गर्ने सन्दर्भमा विमूख महासयहरु अहिले निकै चर्को स्वरमा चिच्याएर वर्तमान परिस्थितिलाई धमिल्याउन उन्मुख देखिन्छन् ।

विश्वका शक्तिशाली देशहरुले ठूलो मात्रामा साधनस्रोतको प्रयोग गरेर कोभिड विरुद्धको भ्याक्सिन उत्पादन गर्न सफल भएकोले विश्व मानव जगतमा नयाँ आशा पल्याएको छ तथापि तीनै देशहरुमा कोरोना महामारी जटिल रुपमा देखा परेकोले ती देशलाई नै हम्मेहम्मे परेकोले नेपाल जस्ता देशहरुले कोभिड भ्याक्सिनका लागि अझै धैर्य गर्नुपर्ने देखिन्छ । नेपाल जस्ता विपन्न देशहरुमा एकातर्फ स्वाथ्यक्षेत्रका पूर्वाधार पर्याप्त मात्रामा विकास हुन सकेको छैन भने अर्कोतर्फ कोरोना भाइरस नयाँ नयाँ रुपमा विकसित हुँदै गएकोले संक्रमित र मृत्यु हुनेको दर बढ्दो छ । आगामि बर्षपनि विश्व लगायत नेपालले कोरोना महामारीसँग लड्नुपर्ने देखिन्छ ।

गरिबी, सामाजिक असमानता, आर्थिक दरित्रता, क्षेत्रीय असमानता, अशिक्षा जस्ता समस्याहरुसँग जुध्दै आएका नेपाली यो महामारीसँग लड्नु पर्दा दैनिकी जटिल बन्दै जीवन स्तर खस्कदै गएको छ । यस्तो महाविपतमा सबै एक भएर महामारीको विरुद्ध लड्नु सबैको साझा दायित्व हो ।

नेपालीको विडम्वना भनौ या दुर्भाग्य भनौ यस्तो महाविपतमा नेपालका विभिन्न दलका प्रमुखको साथै देशकै प्रमुखको जिम्मेवारीको नेतृत्वलिई सकेका नेता तथा भूतपूर्वहरुले यो अवधिमा गरेका गतिविधिहरु देश र जनताका लागि कति जिम्मेवार छन् । उनीहरुको लडाई केका लागि, यसले देश र जनताका लागि कति प्रभाव पार्दछ यसको चिरफार गर्नु आवश्यक देखिन्छ ।

अहिले पनि राज्यबाट सेवा तथा सुविधा उपभोग गरिरहेका सत्तापक्ष तथा प्रतिपक्षका भूतपूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा नेताहरुको साझा दायित्व के हुने यस प्रश्नको अनुत्तरित छ । नेपाल लगायत केही यस्तै प्रकृतिका नेताहरु भएका देशहरु बाहेक विश्वका सबैदेशहरु कोरोना महामारीलाई साझा समस्या मानी यसबाट कसरी छुट्कारा पाउने भन्ने कुरामा साझा दायित्व मानेर आफ्नो साधन स्रोत तथा क्षमता प्रयोग गरेका छन् ।

नेपालको वस्तुगत समस्या

कोरोना महामारीको संक्रमणको शुरुआतमा नेपालमा स्वाथ्यक्षेत्रका पूर्वाधार दलनीय अवस्थामा रहेकोकुरा सर्वविधितै छ । यो महामारी नेपाली मानस पटलको कल्पना भन्दा बाहिरको कुरा हो । नेपालका केही शासनसत्ता समालेका भूतपूर्वहरु तथा वर्तमान नेता तथा शासकहरु हाम्रो स्वास्थ्य उपचारप्रति विश्वास नभएर विदेशमा जाने कटु सत्य छ । आफु सत्तामा हुँदा यसक्षेत्रको विकासका लागि वास्ता नगर्ने पछि रोग लागेपछि विदेश लाग्ने गलत प्रचलनको विकास गरेका छन् ।

कोरोना महामारीको आगमन पश्चात् क्रमश नेपालको स्वास्थ्य क्षेत्रले प्रामिकता पाएको छ र वर्तमान सरकारले आफ्नो अधिकतम प्रयास गरकोले देशका विभिन्न स्थानमा कोभिड टेष्ट गर्न सम्भव भएको छ र अधिकांश क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुग्दै छ । हिजो राज्य सञ्चालन गरेका शाही शासकहरु हुन वा बहुदलीय व्यवस्थाको साथै गणतन्त्रमा शासन गरेका शासकहरुको देश र विकासप्रतिको गैरजिम्मेवारीका कारणले गर्दा देशले यो दूर्दशा भोग्नु परेको हो । यहाँ कसैले आफ्नो अनुहार छोपेर चोखो बन्नु पर्दैन । देशमा धेरै समस्याहरुबीच स्वास्थ्यक्षेत्रमा देखिएको समस्याप्रति अहिले जनचासो बढ्दै गएको छ र विभिन्न प्रकारका भूतपूर्व तथा वर्तमानहरुले सरकारप्रति धारेहात लगाएर आफु कर्तत्वबाट भाग्दै छन् ।

विद्यमान चुनौतीहरू

नेपालको विद्यमान प्रमुख चुनौतीमा सम्पूर्ण नागरिकलाई कोभिड विरुद्धको भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराई नेपालीलाई कोरोनाबाट सुरक्षित राख्ने हो । नेपाल सरकारले अन्य प्राथमिकलाई यथावत् राखी जुनसुकै विधि तथा उपायबाट मित्रराष्ट्हरुबाट कोभिड विरुद्धको भ्याक्सिनल्याई जनतालाई सुरक्षित बनाउनु प्रमुख दायित्व हो र सरकारले विभिन्न माध्यम तथा विकल्प प्रयोगगरी सोतर्फ उन्मुख देखिन्छ ।

यतिमात्र नभएर कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई अनुदान वा छुटमुलक संयन्त्रको प्रयोगगरी सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान गराई आर्थिक लक्ष्य प्राप्त गर्नु हो । यसैगरी लोक कल्याणकारी राज्यको अवधारणा र संविधानले प्रदत्व गरेका अधिकारहरुलाई सुनिश्चित गर्दै जनतामा समृद्ध नेपाल सुखी नेपालीको नारालाई अनुभूति दिनेगरी कार्य सञ्चालन गर्न उन्मुख हुनु पर्ने देखिन्छ । वर्तमान सरकार एकातर्फ देशमा देखा परेका चौतर्फी समस्याहरुको समाधानतर्फ उन्मुख देखिन्छ भने अर्कोतर्फ सत्ता परिवर्तनको खेलमा लागेका प्रतिपक्ष र सत्तापक्षका केही नेताहरुको चक्रव्युहलाई तोड्न ध्यान दिनु परेकोले नतिजा अपेक्षाकृत हुन सकेको छैन ।

२०७८।२०७९ को बजेटले जगाएको आशा

वर्तमान सरकारले अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०७८।७९ को बजेटले विद्यमान कोरोना महामारीका विरुद्ध लड्न र कोरोना महामारीको कारणले थिचिएका जनता र थलिएको अर्थतन्त्रलाई पूनर्ताजकीकरण गर्नमा उत्साह दिने पहल गरेको छ । यो बजेटमा सम्पूर्ण नागरिकलाई निशुल्क भ्याक्सिन उपलब्ध गराउन बजेट विनियोजन गरिनुका साथै कोरोना संक्रमितलाई निशुल्क उपचार तथा विपन्न तथा रोजगारी गुमाएकालाई विभिन्न राहतका कार्यक्रमको अवला व्यवसायमा परेको असरलाई कम गर्न विभिन्न कर छुटका कार्यक्रम समेटेकोले जनता र व्यवसायी तथा उद्योगीवर्गमा राहतको अनुभूति भएको प्रतिक्रिया सम्बन्धित वर्गबाट आएका छन् । नेपाल सरकारले यो बजेट कार्यान्वयन गर्न पाएमा कोरोनाका कारणले गर्दा थिचिएका जनता र थलिएको अर्थतन्त्रले अर्कोबर्ष नयाँकोर्षमा पुर्याउने अपेक्षा गरेको देखिन्छ।.

भूतपूर्वहरुको वितन्डा

अरु देशहरुमा कोरोना महामारी साझा समस्याको रुपमा लिइएको छ र जनतालाई कोरोनाबाट सुरक्षित राख्न र अर्थतन्त्रलाई चलायमान गराउन सबैले साझा दायित्वको रुपमा लिएकोले क्रमश ती देशहरुमा कोरोना महामारीको असर कम हुँदै गएको छ र आर्थिक क्रियाकलापले गतिलिन थालेका छन् ।

यो महामारीमा सबैले आफ्नो औकात र क्षमता प्रयोग गरेर संक्रमितलाई सहयोग गर्नु र देशलाई कोरोनाबाट मुक्तगर्न आ-आफ्नो दायित्व निर्वाह गर्नपर्ने संवेदनशील घडीमा राज्यको प्रमुख पदमा पुगेका भूतपूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, राजदुतहरु, सर्वोच्च अदालतका प्रधान न्यायधिस तथा न्यायधिशहरु, उच्च तहमा पुगेका कर्मचारीहरु, पूर्व उपकुलपतिहरु, वर्तमान प्रतिपक्ष तथा सत्तापक्षका नेताहरुको भूमिका फेसवुकका वालमा स्टाटसबाट सरकारलाई तथानाम गाली तथा आलोचना गर्ने र ठूलो उपलब्धी भनेको प्रेस मिट तथा प्रचारवाजी गर्ने कार्यबाट आफ्नो दायित्व पुरा गरेकोमा गर्व गर्दैछन् ।

विडम्वना, राज्यबाट वर्तमान वा भूतपूर्वको नाममा सेवा सुविधा लिइरहने तर देश तथा जनताको हितका लागि कुनै कर्तव्य पुरा नगर्नेको जमात बढी भएको सरकारले गर्ने सकारात्मक कार्यलाई समेत बंग्याएर देश र जनतामा भ्रम फैल्याउनुको साथै निराशा पैदा गर्ने गरेको देखिन्छ ।

महामारीमा भूतपूर्व प्रधानमन्त्री तथा राज्यको सुविधा लिएकाहरुको भूमिका के ?

राज्यको प्रधानमन्त्री जस्तो जिम्मेवारी लिएकाहरु तथा राज्यका विभिन्न पदमा बसेर जिम्मेवारीको अनुभव लिई हाल राज्यकै सेवा तथा सुविधा उपभोग गरेका व्यक्तिहरुको सरकार सञ्चालन गरेकाहरुको जस्तै भूमिका हुन्छ । भूतपूर्व प्रधानमन्त्रीको सवालमा त उनीहरुको पदिय हैसियत मन्त्री कै जस्तै वा सो सरह भएकोले उनीहरु देश र जनताको दायित्व लिनेकुराबाट भाग्ने वा अनावश्यक रुपमा फेसवुकको वालमा अनावश्यक रुपमा अरुको चरित्र हत्या गर्ने लेख्नु वा पोष्ट गर्नु अपराधिक मानसिकता हो ।

महाविपत्तको घडीमा कुनै पनि नागरिकले क्षमता भएमा आफ्नो तर्फबाट विपत्त व्यवस्थापनका लागि सहयोग गर्ने हो र नसकेमा सुभेक्षा प्रकट गर्ने हो । सरकार वा सम्बन्धित पक्षलाई रचनात्मक सुझाव दिने हो । तर नेपालमा भूतपूर्वहरु सरकारका बारेमा अनावश्यक रुपमा स्टाटस लेखेर कृतिमानी कायम गर्ने जस्ता गैरजिम्मेवार भूमिकाले गर्दा जनतामा नैराशता र वितृक्ष्णा पैदा भएको छ ।

हामीले बुझ्न नसकेको हो की वा सम्बन्धी व्यक्तिहरु गैर जिम्मेवार भएको हो । हाम्रा छिमेकी देश भारतमा पनि नेपालमा जस्तै भूतपूर्व प्रधानमन्त्रीहरु लगायत अन्य भूतपूर्वहरु छन् । सत्तापक्ष तथा प्रतिपक्ष छ । तर नेपालमा जस्तो क्लब बनाएर व्यक्तव्यको खेती गरेको देखिंदैन । के भारतमा सरकारले शत्प्रतिशत जनतालाई कोरोना महामारीबाट सुरक्षित राख्न सकेको छ । के त्यहाँ रोगभोक तथा गरिबीका सबै समस्या अन्त्य भएका छन् ।

नेपाल भन्दा भूवनोट देखी सम्पूर्ण कुरामा ठूलो तथा साधनस्रोत वा विकासको स्तरमा सम्पन्न भएको देशमा त कोरोना भनौ अन्य कारणले गर्दा जनताको दैनिकी कष्ठकर नै छ तथापि त्यहाँ सत्तापक्षबाट रचनात्मक सहयोग तथा प्रतिपक्षबाट रचनात्मक आलोचना भएको देखिन्छ । अमेरिकामा अहिले पनि धेरै भूतपूर्व राष्टपतिहरु छन् । उनीहरु राज्यको सुविधा लिएको पनि देखिदैंन । उनीहरुले आफ्नो कार्यकाल पुरा गरेपनि पुन आफ्नो सामान्य दैनिकीमा फर्केको देखिन्छ । संसारमा सबैभन्दा बढी मानिसहरु अमेरिकामा कोरोनाबाट संक्रमित हुनुको साथै सबैभन्दा बढी ज्यान गुमाउने पनि अमेरिकन छन् ।

अहिले त्यहाँको सरकार तथा सबैको साझा प्रयासबाट कोरोनाको प्रभाव घट्दै गएको छ । तर नेपालको सन्दर्भमा समस्याको सम्पूर्ण कारण सरकार र समाधानको जिम्मेवार पनि सरकार भन्ने गलत परम्पराले गर्दा देश समस्याबाट मुक्त हुन कठिन छ । नेपालमा वर्षा याममा च्याउ जस्तै उम्रेका विभिन्न संघसंस्थाहरु छन् । तिनीहरुको भूमिका भनेको विभिन्न समयमा विरोधको व्यानर देखाउने कार्यलाई आफ्नो अधिकतम उद्देश्य बनाएको देखिन्छ ।

अहिले कोरोना महामारीले ६ लाख भन्दा बढी नेपाली संक्रमित भएका छन् उनीहरुको पिडामा कोंही कतैपनि स्वाथ्यलाभको कामना गरेको समेत देखिन्छ र ८ हजारभन्दा बढी नेपालीले ज्यान गुमाउँदा कोही कतै समवेदना वा श्रद्धाञ्जली शब्द व्यक्त गरेको स्टाटस देखिदैंन । विडम्वना के हो भने भूतपूर्व प्रधानमन्त्री वा अन्यको रुपमा राज्यबाट सक्दो सुविधा लिइरहने तर जनताप्रतिको कुनै दायित्व छैन । यो महामारी सत्तापक्ष, प्रतिपक्ष तथा सम्पूर्ण नागरिकको साझा दायित्व हुँदैन । सामान्य सरकारको बढी दायित्व हुन्छ र अरुको पनि उत्तिकै देश र जनताको जीवन रक्षाको दायित्व हुन्छ भन्ने कुराको अनुभूति हुन सबैमा जरुरी छ ।

वास्तवमा अहिले देश एउटा जटिल अवस्थाबाट गुज्रिरहेको छ । दैनिक रुपमा ५०-१०० को संख्यामा कोरोनाका कारणले गर्दा नेपालीले ज्यान गुमाई रहेका छन् । हजारौंको संख्यामा कोरोना संक्रमितको संख्या थपिदै गएको छ । विदेशमा कोरोना महामारीका कारणले कैयौ नेपालीले रोजगारी मात्र होइन ज्यान समेत गुमाएका छन् । हजारौ नेपालीहरु रोजगारी गुमेपनि हवाई यातायातको बन्दले गर्दा विदेशमै अल्पत्र परेका छन् ।

देशमा बन्दाबन्दी तथा कोरोना महामारीका कारणले गर्दा रोजगारीका क्षेत्रहरु बन्दको अवस्थामा रहेकाले धेरै नेपाली बेरोजगार तथा बेखर्ची भएका छन् । त्यतिमात्र नभएर प्राकृतिक विपत्ति तथा अन्य रोगका कारणले गर्दा जनताको जीवनी निकै कष्ठकर अवस्थामा पुगेको छ । विगतमा देशको सत्ताको बागडोर समालेका तर सम्भावित परिस्थितिको आँकलन गर्न नसकेका तथा आजपनि जनताले चुनेर पठाएका भूतपूर्वहरु देश र जनताप्रति अनुत्तरदायी भई एकोहोरो सरकार परिवर्तनको खेलमा लागेको देख्दा नयाँ पुस्ताले यो मुलुकमा आफ्नो भविष्य देख्न छोडेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:५४