१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो


३ असार, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बृद्भ भत्ताको रकम चोरीमा कारबाही स्वरूप नुवाकोटको पञ्कन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिएका छन । वृद्ध भत्ता चोरी प्रकरणमा नैतिक रूपमा दोषी रहेको निष्कर्षसहित मन्त्रालयले पुडासैनीलाइ कारबाही स्वरूप मन्त्रालय तानेको हो ।

पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ बाट गत चैत २४ गते ५३ लाख रुपैयाँ चोरी भएको नाटक मञ्चन गरिएको थियो । सीसीटीभी फुटेज हेर्दा चोरी नाटकमात्र रहेको मन्त्रालयका अधिकारीको निष्कर्ष रहेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सीधै व्यक्तिको खातामा तानेर झिकेको ५० लाख रुपैयाँ र वडा कार्यालयमा भएको ३ लाख गरी ५३ लाख रुपैयाँ चोरी भएको प्रचार गरिएको थियो । मन्त्रालयले प्रशासकीय अधिकृतको गम्भीर लापरवाही देखिएपछि पुडासैनीमाथि मन्त्रालय तानेर थप छानविन गर्न लागेको हो ।

गाउँपालिकामै रहँदा प्रमाणहरू नष्ट गर्न सक्ने भएकाले मन्त्रालय तानिएको एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयले उपसचिव मदन कोइरालाको नेतृत्वमा गठन गरेको छानविन समितले स्थलगत निरीक्षण गरेर प्रतिवेदन दिए लगत्तै मन्त्रालयले पुडासैनीको जिम्मेवारी खोसेको हो । अधिकृत पुडासैनीलाई अतिरिक्त समूहमा राखेर काम बिहीन बनाइएको छ ।

मनत्रालयले यो घटनाको छानविन गर्न  उपसचिव मदन कोइराला संयोजक र लेखा अधिकृत उमेश्वर काफ्ले सदस्य रहेको समिति बनाएको थियो । समिति गाउँपालिका नै पुगेर अनुसन्धान गरेर काठमाडौं फर्किसकेको छ । यसअघि मन्त्रालयले निलम्बन नै गर्ने तयारी गरेको भएस्पनि घटनावारे पहिला अध्ययन गर्ने भन्दै हाललाई काठमाडौं तानेको हो ।

नेकपा माओवादी निकटका पुडासैनी माओवादीकै बलमा चार वर्ष भन्दा बढीसमयदेखि पालिकामा कार्य रहेका थिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार २१:४९