१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छः प्रधानमन्त्री ओली


बीबीसीकी सालु यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कुराकानी ।

के तपाईंलाई भारतबाट आशा गरेजस्तै सहयोग प्राप्त भयो ?
त्यस्तो त मलाई नकारात्मक कुरा गर्नु छैन । तर अदालतको फैसला, खोपको कमी, भारतमा लहर फैलिरहेको थियो । भारत समस्यामा थियो त्यसले होस् । तर मलाई लाग्छ, जति सहयोग मिल्नु पर्दथ्यो एउटा छिमेकी, जसको सिमाना खुला छ, भारतमा महामारी रोकियो तर नेपालमा नियन्त्रण भएन भने त्यसको कुनै अर्थ नै छैन, किनकि त्यो सर्छ नै ।

यस्तो बेला प्रधानमन्त्री मोदीलाई के भन्न चाहनुहुन्छ ?
म उहाँलाई अनुरोध गर्छु कि नेपाललाई अरु देशभन्दा केही फरक ढंगले, किनकि हामीजस्तो छिमेकीहरु जहाँ खुला सिमानामा दुवैतिर खेत छन्, कहीँकहीँ त दशगजा कहाँ छ थाहा छैन । मानिसहरु बीच हरेक कुराका निम्ति आवतजावत हुन्छ । यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ । त्यसको अर्थ मैले भारतबाट सहयोग नपाएको भनेको होइन । अक्सिजन, औषधि लगायत धेरै कुरा ल्याइराखेका छौं । सबैभन्दा पहिले खोप पनि उपलब्ध गरायो, त्यसको निम्ति भारतलाई धन्यवाद पनि छ ।

महामारीका बेला चीनले बढी मद्दत गरेका कारण अब नेपालमा चीनको प्रभाव बढी भएको हो कि ?
यसमा राजनीतिलाई बीचमा ल्याउनु कुनै आवश्यकता नै छैन । यसमा कसैको प्रभावको कुरा पनि होइन । यो खोपको मामिला हो । खोप भारतले दिए पनि, चीनले दिए पनि, अमेरिका, युके जसले दिए पनि ठीक छ । त्यसैकारण यसमा राजनीति गर्न जरुरी छैन र दुवै छिमेकीलाई हामी धेरै धन्यवाद दिन्छौं । किनभने एउटाले हामीलाई १८ लाख खोप दिएको छ, अर्कोले २० लाख खोप दिएको छ । दुवैको मद्दत हामीले पाइराखेका छौं । दुवैबाट हामीलाई मेडिकल उपकरणहरु पनि मिलिरहेको छ । त्यसलैले हामी दुवैलाई धन्यवाद दिन्छौं ।

एउटा अन्तिम प्रश्न म सोध्न चाहन्छु, विगत ६ वर्षदेखि मोदी भारतमा प्रधानमन्त्री छन् र यो बीचमा नेपालसँगको सम्बन्धमा केही तनाव रह्यो, केही मनमुटाव भयो । तपाईंको चाहिँ भारतसँगको सम्बन्ध कहाँ रहेको छ ?

मलाई के लाग्छ भने छिमेकी भएका कारण समस्या हुन्छ । समस्या किन उत्पन्न हुन्छ ? चिली वा अर्जेन्टिनाका मानिससँग न तपाईंको प्रेम हुन्छ, न घृणा, केही पनि हुँदैन । फेसबुकको जमानामा यताउता त हुन पनि सक्छ, तर त्यसको सम्भावना एकदमै कम हुन्छ । किनभने त्यहाँ जानु पनि छैन र त्यहाँका मानिसलाई यहाँ आउनु पनि छैन । तर, जहाँ छिमेकी हुन्छ, त्यहाँ प्रेम पनि हुन्छ र समस्या पनि उत्पन्न हुन्छ । हो, कहिलेकाहीँ असमझदारीहरु थिए, तर अब ती असमझदारीहरु हटेका छन् । कुनै समय असमझदारी थियो, हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन, भविष्य हेरेर अगाडि बढ्नु पर्छ । केही अँध्यारा र काला पक्षहरु थिए, त्यसमा अल्झिनु हुँदैन । हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनु पर्छ, हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १०:०८