१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सबै नेपालीबीचको एकतामा राष्ट्रपति भण्डारीको जोड


१७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस महान् पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले यस पर्वले संप्तरंगी जस्तै समृद्धिका विभिन्न आधारहरुको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०६:१५