२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अग्नि सापकोटाले भूमाफियालाई बाँडेको १ सय ५८ बिघा सरकारी जग्गा फिर्ता


१ जेठ, काठमाडाैँ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुनसरीको सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा भूमाफियाको हातमा पुर्याएको तथ्य सार्वजनिक भएको छ । राजधानी दैनिकमा पत्रकार निराजन पाैडेलले यसका विषयमा तथ्यसहित समाचार प्रकाशन गर्नुभएको छ । 

सापकोटाले वनमन्त्री हुँदा भूमाफियाकोमा पुर्याएको सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो । सापकोटाले ‘तोक आदेश’को भरमा भूमाफियाको कब्जामा पुर्याएको जग्गा सरकारले फिर्ता ल्याएको हो । सापकोटाले १५ वैशाख २०७३ मा व्यक्तिको नाममा हुने तोक आदेश लगाउनुभएको थियो ।

सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा जग्गा अधिग्रहण भएर सट्टा भर्ना भएपछि पनि भूमाफियाको सञ्चालमा जग्गा किनबेच भइरहेको थियो । जग्गा अधिग्रहण भएर सट्टाभर्ना पछि पनि भूमाफियाले किनबेच गरेपछि सरकारले त्यसलाई रोक लगाएको थियो । ३ सय ४८ बिघामध्ये सरकारले १ सय ५८ सरकारको नाममा आएको छ ।

जनसञ्चार मञ्च धरान सुनसरी नेपाल नामक संस्थाले २२ भदौ २०७१ मा धरानको सरकारी जग्गा अधिग्रहण गरिएको जग्गा रोक्का गर्न माग गर्दै निवेदन दिएका थियो । निवेदनको आधारमा वन मन्त्रालयका सचिवले सो जग्गा रोक्का गरेका थिए ।जग्गा रोक्कासँगै वन मन्त्रालयले बनाएको जाँझबुझ समितिले तथ्य प्रमाण बुझेको थियो । तथ्य प्रमाण हेरेर वन मन्त्रालयका सचिवले ‘१८ असार २०७१ मा सर्वोच्चले तथ्य प्रमाण नहेरी सट्टा भर्ना भएको देखिँदा सो जग्गा किनबेचमा रोक्का लगाउनू’ भनी निर्णय गरेका थिए ।

तर, तत्कालीन वनमन्त्री सापकोटाले सचिवले गरेको निर्णय खारेज गर्दै व्यक्तिको नाममा जग्गा हुने तोक लगाउनुभएको थियो । राजनीतिक दलको स्थानीय पार्टी नेताको सर्वदलीय बैठकले ४२ मध्ये २८ बिघा जग्गा सरकारको नाममा हुने र बाँकी जग्गा व्यक्तिको नाममा हुने निर्णयसमेत हालका सभामुख सापकोटाले ‘कार्यान्वयन गर्नू ?’ भनी तोकआदेश दिएको अधिवक्ता युवराज कोइरालाले जानकारी दिनुभयो ।

सर्दु जलाधार क्षेत्रको जग्गा १० वैशाख २०३५ सालमा व्यक्तिको नाममा भएको जग्गा अधिग्रहण गरेर त्यसको सट्टा भर्ना मोरङमा दिइएको थियो । ६ असोज २०३५ मा तत्कालीन अञ्चलाधीशको अध्यक्षतामा बसेको बैठकले अधिग्रहण भएको जग्गा सरकारको नाममा हुने निर्णय गरेको थियो ।

२०७६ मा सरकारी सार्वजनिक गुठी जग्गा सम्बन्धित जाँचबुझ आयोग अध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा बनेको समितिले तत्कालीन वनमन्त्री तथा हालका सभामुख सापकोटालाई सरकारी जग्गा व्यक्तिको नाममा दिन तोकआदेश दिएको भन्दै भ्रष्टाचार मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ । साथै, किर्तेमा ठगी मुद्दा चलाउन प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)लाई सिफारिस गर्ने भनेको छ ।

समिति प्रतिवेदनअनुसार मन्त्रिपरिषद् बैठकले १ वैशाख २०७६ मा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सरकारले आयोगको प्रतिवेदन १४ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाए पनि कार्यान्वयन नभएको अधिवक्ता युवराज कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १०:०६