१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

समानान्तर गतिबिधिमा लागेका नेतालाई मुलधारको एमालेमै फर्कन विष्णु रिजालको अपिल


४ वैशाख, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विचार समूह छाडेपछि एकतावद्ध एमालेका लागि अभियान चलाउन थाल्नुभएको छ । माधवकुमार नेपाल कुण्ठाको राजनीतिमा अल्झिएपछि रिजाल भने एमालेको मुलधार सशक्त बनाउनुपर्ने अभियानमा केन्द्रीत हुनुभएको छ ।

माधवकुमार नेपालको सल्लाहकार समूहका एक रहनुभएका रिजालले माधव नेपाल समूहको विचार त्यागेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैमा केपी ओलीको विकल्प नरहेको सार्वजनिक टिप्पणी गरेपछि दैनिकीले रिजाले पनि छाडे विष्णु रिजालले पनि देखेनन् ओलीकाे विकल्प शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

रिजालले शुक्रबार नेपालखबर नामको एक न्यूज पोर्टलमा आफ्नो विचार सार्वजनिक गर्दै असन्तुष्ट बनेका एमालेका सबै नेता कार्यकर्ताले मुलधारको नेकपाको गतिबिधिमा फर्किनुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ । उहाँले एकताबद्ध एमालेको पक्षमा भनेर आफ्नो विचार सार्वजनिक गर्नुभएको छ । उहाँले समानान्तर गतिबिधिमा लागेका नेतालाई मुलधारको एमालेमै फर्कन अपिल गर्नुभएको छ ।

रिजालले लेख मार्फत माधवकुमार नेपाल समूहले एमाले विभाजन गरे भने पनि त्यो बढीमा चार वर्षमा नेकपा मालेको हैसियतमा पुग्ने ठोकुवा गर्नुभएको छ । उहाँले उल्लेख गर्नुभएको छ ‘पार्टी अध्यक्ष र पार्टीको मूलधारसँग असन्तुष्ट वा असहमत रहनु भएका सबै तहका नेता, कार्यकर्ता र सदस्य कमरेडहरुलाई आ–आफ्नो कमिटीको बैठकमा सहभागी हुन, लोकतान्त्रिक तरिकाले छलफलमा भाग लिन र पार्टीले दिएको जिम्मेवारी सम्हालदै नेकपा (एमाले) लाई एकतावद्ध, गतिशील र बलशाली तुल्याउने कार्यमा योगदान गर्न हार्दिक आग्रह गर्दछु। व्यक्तिले आफ्नो हैसियत गुमाउँदा पनि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट आन्दोलनको हैसियत सुरक्षित र सुदृढ हुन्छ भने त्यसका लागि तयार हुन अनुरोध गर्दछु।’

रिजालले प्रधानन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुनुको विकल्प नभएको तर्क गर्नुभएको छ । उहाँले मुलुकको भविष्य सवल र गतिशिल एमालेमा देख्नुपर्ने भन्दै प्रचण्डको काखमा सुत्न जाने खालको प्रवृतिको निन्दा गर्नुभएको छ । त्यस्तै रिजालले विभाजनले शक्तिप्राप्त नहुने र कहिले पनि सफलता नदिने भन्दै एमाले विभाजन गरेर नयाँ पार्टी बनाए मालेकै हालत हुने चेतावनी समेत दिनुभएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार ०९:५१