१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

समानान्तर सत्ता अभ्यास गर्दै प्रधानन्यायाधीश पराजुली


१६ फागुन, काठमाडाैँ । प्रधानन्यायाधीश गोपाल पराजुली कांग्रेस सभापति शेरबहादुर देउवाको आदेश पालक बन्दै समानान्तर सत्ता अभ्यासमा लागेको तथ्य खुलेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई नयाँ सरकारले गर्ने हरेक काम अदालत पठाउन भन्दै आफूले बदर गरिदिने बताएपछि प्रधानन्यायाधीशले समानान्तर सत्ता अभ्यास सुरु गरेको तथ्य बाहिर आएको हो ।

‘कोही डराउनु पर्दैन, पराजुली छन्, त्यहाँ, ओली सरकारले जे काम गर्छ, अदालतमा जानु, उनले सबै जिताएर पठाउँछु भनेका छन्,’ केही दिनअघि कांग्रेस सभापति देउवाको भनाइ उधृत गर्दै बुढानीलकण्ठ स्रोतले भन्यो । स्रोतका अनुसार ओली सरकारले कर्मचारी नियुक्ति, सरुवादेखि राष्ट्रिय सभामा नियुक्त तीन सदस्यको मुद्दासमेत पराजुलीले जिताइदिने वचन देउवालाई दिएका छन् । ‘हामी अदालत जाँदै छौँ, त्यहाँबाट पुरानै निर्णय सदर गर्ने कुरा भइसकेको छ,’ स्रोतका अनुसार राष्ट्रिय सभा सदस्यबारे सर्वाेच्चको आदेश आउनुभन्दा तीन दिनअघि देउवाले आफ्नै निवासमा केही निकट नेतासँग भनेका थिए ।

देउवाले तीन दिन अघि नै आफूले गरेको निर्णयअनुसार अदालतबाट आदेश आउने बताउँदा पत्यार नगरेका ती नेताले अदालतको फैसलापछि भने केही साथीसँग यो कुरा सेयर गरेका हुन् । ‘शेरबहादुर दाइले अस्तिको दिन नै उल्टिन्छ भन्नुभएको थियो, त्यहीअनुसार आयो,’ देउवा निकट ती नेताको भनाइ उधृत गर्दै सहयोगीले भने ।

पछिल्लो समय देउवाले आफ्नो सबै काम प्रधानन्यायाधीश पराजुलीमार्फत गराउँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धिका लागि गर्ने हरेक कामलाई उल्ट्याएर काम गर्नै नदिनसमेत पराजुलीलाई भनेको ती नेताले जनाए ।

‘अब देउवा सरकारको सेटिङ तोड्नका लागि हुने कर्मचारी नियुक्तिदेखि सरुवा बढुवासम्मका सरकारले गर्ने सबै काम अदालतले उल्टाउँछ, समानान्तर सत्ताको अभ्यास राष्ट्रिय सभा सदस्यको नियुक्तिबाटै प्रधानन्यायाधीशले सुरु गरेका छन्,’ देउवाको भनाइ उधृत गर्दै ती सदस्यले भने । उनका अनुसार अदालतबाट के–के गर्ने भन्ने विषयमा देउवासहित ६ जना नेताले पराजुलीलाई सिफारिस गर्नेछन् ।

पराजुलीले नेपाल प्रहरीमासमेत गृहमन्त्री र प्रधानमन्त्रीको शैलीमा नातेदार बढुवा गर्न आदेश दिइसकेका छन् भने अन्य कतिपय निकायमा समेत प्रधानन्यायाधीशको सचिवालयबाट फोन जान थालेको छ ।

दुई महिना मात्रै अवधि बाँकीरहेका प्रधानन्यायाधीश पराजुलीले पछिल्लोसमय आफ्नो गलत कामको समाचार रोक्न प्रेस काउन्सिललाईसमेत आदेश दिइसकेका छन् । घर जाने वेलासम्म बिदामा नबसी प्रेस स्वतन्त्रता हनन्देखि सरुवाबढुवामा हात हालेर समानान्तर सत्ता चलाउने पराजुलीको योजना रहेको छ ।

पूर्ववर्ती कांग्रेस सरकारजस्तो ओली सरकार नरहेको कारण आफूविरुद्ध घर जाने वेला महाअभियोग नआउनेमा ढुक्क रहेको प्रधानन्यायाधीश पराजुलीले केही दिनयता बुढानीलकण्ठको आदेश पालकजस्तो काम गरिरहेको र प्रहरी अधिकृतको बढुवामा समेत दबाब दिएको निकट स्रोतको भनाइ छ ।

प्रधानन्यायाधीश पराजुलीले आफ्नोविरुद्ध समाचार लेख्ने पत्रिका र पत्रकारलाई जसरी पनि जेल हाल्ने घोषणा त सर्वाेच्चकै न्यायाधीशसामु गरिसकेको स्रोतको भनाइ छ । ‘सबैलाई तर्साएर प्रधानन्यायाधीश लोकमानकैजस्तो समानान्तर सत्ता सञ्चालन र आतंक मच्चाउन चाहिरहनुभएको छ,’ सर्वाेच्चकै एक न्यायाधीशले निकटसँग भनेका छन् । सौर्य दैनिक

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १०:२०