१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङकाे छानबिन गर्न धितोपत्र बोर्डले गठन गर्यो उप समिति


२३ चैत, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङको छानबिन गर्न उप समिति गठन गरेको छ । बोर्डले कम्पनीकाे हकप्रद शेयर निष्काशन गर्ने सूचना चुहिएको भन्दै छानविन गर्न माग भएपछि उप समिति गठन गरेको हो ।

अजोड इन्स्योरेन्सले चैत १९ गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने सूचना प्रकाशित गरेको थियो । तर सूचना प्रकाशन गर्नु अघि नै अर्थात चैत १६ गते कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । हकप्रद निष्काशनको सूचना आउनुभन्दा अघि नै कम्पनीकाे शेयर मूल्य १० प्रतिशतले बढेपछि इन्साइडर ट्रेडिङ भएको भन्दै छानविन गर्न बोर्डमा आवेदन परेको थियो ।

त्यस अनुसार बोर्डका निर्देशकको संयोजकत्वमा एक उप समिति गठन गरी जाँचबुझ कार्य अगाडी बढाइसकेको बोर्डले जनाएको छ । त्यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारवाही अगाडी बढाउने बोर्डले जनाकारी गराएको छ । बाेर्डले धितोपत्र बजारको स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १९:१२