२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधिमूल


१२ चैत, काठमाडाैँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यस क्षेत्र अहिले पर्यटन आकर्षणको केन्द्र बनेको छ । आँधिमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधिमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढाटाढादेखि आउने गर्छन् ।

यो मन्दिरमा साउन महीना र औँसी बाहेकका सबै दिनमा पूजा लाग्ने गर्छ । आँधिमूल देविको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरु टाढाटाढाबाट आउने गरेको स्थानीयहरु बताउँछन् । आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ ।

गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मन्दिर सम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्रसय देखि आँधिमूल सम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताउनुभयो । पृथ्वी राजमार्गको सत्रसय देखि करीब एक घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारी साधन मार्फत १५ मिनेटमा नै पुग्न सकिन्छ । विशेषगरी सार्वजनिक बिदाको दिन पर्यटकहरु घुम्न र वनभोजका लागि आउने गर्छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १४:२१