२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठसहित)


६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उहाँले लिखित जवाफ पेश गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश गर्नुभएको उहाँले बताउनुभयो ।


न्यायाधीश डा मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला”, भनिएको थियो ।वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको थियो । सोही प्रकृतिको आदेशानुसार चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेश गरिसक्नुभएको छ ।

जफाफमा प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएकाे छ । उहाँले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताउनुभएकाे हाे । प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाउनुभएकाे छ ।

उहाँले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने समेत बताउनुभएकाे छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १२:५५