१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विद्यालयबाट फर्किरहेकी किशोरीमाथि बलात्कारको प्रयास गर्ने पूर्व माओवादी नेता पक्राउ


-प्रशान्तजंग पाण्डे

१ फागुन, नुवाकोट । रसुवामा विद्यालयबाट फर्किरहेकी किशोरीमाथि बलात्कारको प्रयास गर्ने पूर्व माओवादीका एक नेता पक्राउ परेका छन । विद्यालयबाट फर्किरहेकी किशोरीलाइ बीच सडकमै हातपात गरेर बलात्कारको प्रयास गरेको आरोपमा पूर्व माओवादी नेता रमेश अधिकारीलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीको आधारमा प्रहरीले शुक्रवार कालिका गाउँपालिका तीन बस्ने रमेश अधिकारीलाई उनकै निवासबाट पक्राउ गरेको हो । गत २४ माघमा उनले विद्यालयबाट घर फर्कदै गरेकी एक किशोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय रसुवाका डिएसपी देवेन्द्र पाण्डेका अनुसार किशोरी गत २४ गते ३ बजे विद्यालयबाट घर फर्कदै थिइन् । डाँडाखेतस्थित कच्चीसडकमा मोटरसाइकलमा आएका अधिकारीले किशोरीको संवेदनशील अंगमा समात्दै दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सोही जाहेरीको आधारमा २७ बर्षे अधिकारीलाई धारापानीबाट नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यलय रसुवाको सदरमुकाम धुञ्चे हिरासतमा राखिएको छ । व्यवसायिक कृषिमा काम गर्ने प्रायस गरिरहेका अधिकारी पूर्व माओवादीको सचिवालय सदस्य हुन । उनी नेकपा हुँदा पनि रसुवाको जिल्ला कमिटी सदस्य रहेका थिए ।

यसअघि नुवाकोटमा पनि पूर्व माओवादीका नेताले बालात्कार गरेको भन्दै पीडितहरू प्रहरीकोमा पुगेका थिए । तर उनीहरूलाइ हद म्यादको कारण देखाएर प्रहरीले फिर्ता गरिदिएको थियो । सांसद नै भएको नेताले बलात्कार गरेको भन्दै नुवाकोटका दुइ किशोरी महानगरीय प्रहरी वृत महाराजगञ्ज पुगेका थिए तर त्यहाँको प्रहरीले एक वर्ष पूगेपछि उजुरी लिन नसकिने भन्दै उनीहरूलाइ फिर्ता पठाइदिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ११:०२