१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माघ ७ गते अमेरिकी राष्ट्रपति बाइडेनको शपथ, ह्वाइटहाउसमा लेडी गागा र जेनिफर लोपेज नाच्दैँ


३ माघ, काठमाण्डौ । अमेरिकाको नयाँ राष्ट्रपतिको शपथ समारोह माघ सात गते हुदै छ । शपथग्रहण समारोहमा हलिउडका ख्यातिप्राप्त चर्चित पपगायिका लेडी गागा र जेनिफर लोपेजले ह्वाइट हाउसमा आफ्नो भव्य प्रस्तुति दिने भएका छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस प्रवेश गर्न अब चार दिनमात्रै बाँकी छ। उनको शपथग्रहण समारोह विशेष हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एकातिर शपथग्रहण समारोह भव्य हुने देखिँदै छ भने अर्कोतिर सुरक्षा व्यवस्था निकै कडा पारिने छ।

लेडी गागा त बाइडेनको निर्वाचनताका नै खुलेर लागेकी थिइन्। मतदान हुनुभन्दा एक दिनअघि बाइडेनसँगै उनी मञ्चमा थिइन्। शपथग्रहणका क्रममा लेडी गागाले राष्ट्रगीत गाउने छिन्। लोपेजले एउटा अलग्गै सांगीतिक प्रस्तुति दिनेछिन्। लोपेजले पनि चुनावमा बाइडेनको समर्थन गरेकी थिइन्। समारोहपश्चात् हलिउडका चर्चित कमेडियन टम ह्यांक्सले एक विशेष टेलिभिजन सो चलाउने छन्।

शपथग्रहण समारोहको अवसरमा आयोजित विशेष प्रस्तुतिको नाम ‘सेलिब्रेटिङ अमेरिका’ दिइएको छ। यो डेढ घण्टाको प्राइम टाइम कार्यक्रममा अमेरिकी संगीतकार जोन बन जोभी, डेमी लोवाटो, जस्टिन टिम्बरलेक तथा चिन्टी क्लिमन्स पनि सहभागी हुने छन्। लाइभ कार्यक्रमको टेलिकास्ट एबीसी, सीबीएस, सीएनएन, एनबीसी र एमएसएनबीसी च्यानलमा पनि हुनेछ। यो कार्यक्रमका माध्यमबाट एकीकृत अमेरिकाका वासिन्दाले आफ्नो नयाँ यात्रा सुरु गर्ने शपथग्रहण समारोह आयोजकको दाबी छ।

जनवरी २० मा बाइडेनले सत्ता सम्हाल्नुभन्दा करिब एक साताअघि वासिङ्टन डीसीको सुराक्षा व्यवस्था निकै कडा पारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत साता यूएस क्यापिटलमा हमला गरेपश्चात् सम्भावित खतरालाई दृष्टिगत गर्दै सबै प्रमुख व्यावसायिक केन्द्रमा सुरक्षा कडा पारिएको हो।    (एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार ०८:१८