१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एचआईभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिलः मन्त्री ढकाल


१६ मंसिर, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एचआईभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । मंगलबार विश्व एड्स दिवसका अवसरमा एक सन्देश सार्वजनिक गर्नुहुँदै मन्त्री ढकालले नेपालले एचआईभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ ‘ हाल कोभिड-१९ महामारी भए जस्तै सन् १९९० को दशकमा विश्वयापी महामारीको रुपमा रहेको एचआईभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । विश्वले सन् २०१० देखि २०१९ सम्म एड्सको कारणले हुने मृत्युदर ३९ प्रतिशतले घटाएकोमा नेपालले ८५ प्रतिशतले घटाउन सफल भएको छ।त्यसैगरी, नयाँ संक्रमणको दरमा बिश्वले २३ प्रतिशतले घटाउदा नेपालले ६४ प्रतिशतले घटाउन सफल भएको छ।यो खुशीको कुरा हो ।’

उहाँले महामारीको बेलामा सबैजना सुरक्षित नभएसम्म कोहीपनि सुरक्षित हुन नसक्ने भन्दै सावधानी अपानाउन अनुरोध गर्नुभएको छ ।  उहाँले भन्नुभएको छ ‘कोभिड-१९ महामारीले एचआईभी संक्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहहरूलाई स्वास्थ्य सेवा पहुँचमा अझ अफ्ठ्यारो र चुनौती सिर्जना गरेको छ । सरकार, विभिन्न साझेदार संस्थाहरु, नागरिक समाज सबैको सक्रियताका कारण कोभिड-१९को यस्तो विषम परिस्थितिमा पनि एचआईभी संक्रमितहरूलाई एआरभी औषधीको उचित र निरन्तर वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।’

मन्त्री ढकालले एचआईभी संक्रमितहरु लगायत उनीहरुको परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभएको छ । उहाँले अघि भन्नुभएको छ ‘नेपाल सरकारको राष्ट्रिय एचआईभी रणनीतिक योजना २०१६-२०२१ अनुसार ९० प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिईएको छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा कामहरू पनि भइरहेका छन्।’

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १२:५२