दैनिकी

  • २४ कार्तिक २०७७, सोमबार २१:४३

आफैँप्रति विश्वास नभएका प्रचण्डको प्राथमिकता आफन्त मात्रै, कार्यकर्ता सधैँ जिल्ल

२४ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक तनावले सरकारका कामकारवाहीलाई पनि प्रभावित पारिरहेको छ । सम्पूर्ण राष्ट्र विकासका केन्द्रित हुनुपर्नेमा पार्टीका एकजना अध्यक्षले नेतृत्व गरेको सरकारलाई अर्का अध्यक्षले असफल पार्ने प्रयास गरिरहनु भएको छ ।

वास्तवमा कमजोरी कसमा छ ? केपी शर्मा ओलीमा छ कि पुष्पकमल दाहाल प्रचण्डमा छ ? अहिलेको समस्यामा मुख्य दोषी को हो ? यसमा कार्यकर्ता र नागरिकको चासो छ । ओलीले सरकारको नेतृत्व गरेदेखि यता भएका घटनाक्रम, प्रवृति आदीलाई हेर्दा पार्टीको अहिलेको समस्याका मुल दोषी प्रचण्ड हुन, ओली होइन ।

हेर्नुहोस कारण

प्रचण्ड अस्थिर नेता हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा एउटा सहमति गर्नुहुन्छ र कोटेश्वरहुँदै खुमलटार पुग्दा उक्त निर्णयबाट पछि हट्नु हुन्छ । पछिपछि पहिला नै खुमलटार र कोटेश्वरमा भेला गरी त्यो निश्कर्ष बोकेर वालुवाटार पुग्नुभयो । जव व्यक्तिको आफ्नो अडान, निर्णय र कन्भिक्सन हुँदैन, त्यो राजनीतिक हुँदैन । प्रचण्ड नेता हुनुभयो तर राजनीतिक नेता हुनसक्नु भएन ।

प्रचण्डलाई उहाँले मागे बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष बनाउनुभयो । कार्यकारीले सिंगो पार्टी संचालनमा केन्द्रित हुनुपर्ने हो । तर प्रचण्ड कार्यकारी अध्यक्ष हुनसक्नुभएन, गुटको संयोजकमात्र बन्नुभयो ।

प्रचण्ड पहिलानै दलालहरुको घेरामा पर्नुभयो । काठमाडौं उहाँको आफ्नो घर छैन, तर उहाँलाई घर दिनेहरुको कमी छैन । अहिले उहाँ बस्नुभएको घर बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीको हो । अधिकारी सडक ठेक्कादेखि मलकाण्डमा सम्ममा कालोसूचीमा परेका ठेकेदार हुन । त्यस्ता धेरै ठेकेदार र दलालहरु प्रचण्डको वरीपरी छन् ।

कार्यकर्ता होइन, आफन्त र नाता पहिला

प्रचण्डको राजनीतिको केन्द्रमा पार्टीका कार्यकर्ता छैनन, आफन्त छन् । उनी अयोग्य र असक्षम हुँदाहुँदै पनि आफन्तलाई पद र प्रतिष्ठा दिलाउन दिलोज्यान दिन्छन् । उनको सचिवालयको रसायन हेर्दा त्यो थाहा हुन्छ । छोरी र बुहारीका प्रगति हेर्दा थाहा हुन्छ ।

प्रधानमन्त्रीले सरकार संचालन गर्ने र प्रचण्डले पार्टीमा ध्यान दिने सहमति हो । तर प्रचण्ड पार्टीका गर्नुपर्ने काम केही गर्नुहुन्न, खाली सरकारवारे मात्र सोच्नुहुन्छ । उहाँको ध्यान वालुवाटारमा बढी छ, धुम्वाराहीतिर कम छ । मन्त्री छान्ने अन्तिम अधिकारी प्रधानमन्त्री हो । तर प्रचण्ड त्यो मान्न तयार हुनुहुन्न । र, सरकारको काममा भाँजो हाल्नुहुन्छ ।

नेकपाले बहुमत ल्याउनुमा ओली र प्रचण्डको पनि योगदान छ । तर मुल्त एमालेप्रतिको बिश्वास हो । व्यक्तिका रुपमा ओलीप्रतिको आकर्षण हो । ओलीलाई प्रधानमन्त्रीका रुपमा प्राजेक्ट गरेपछि पाएको जनमत हो । प्रचण्डले यो स्विकार गर्नसक्नुभएन । ओली र प्रचण्ड बराबरी हैसियतका नेता होइनन् ।

ओलीबिरुद्ध गुटबन्दी
प्रचण्डले बिभिन्न प्रलोभन देखाएर पूर्वएमालेका केही लोभीपापीलाई प्रयोग गर्न खोज्नुभएको छ । र ती नेताहरु नजानिंदो रुपमा प्रयोग भइरहेका छन् । ती र आफ्ना गुटक नेता प्रयोग गरेर ओलीको मानमर्दन गर्ने काम प्रचण्डबाट भइरहेको छ ।

मुख्य राजनीतिक नियुक्तिमा छलफल भएका छन् । मन्त्री प्रचण्डका छन्, राजदूत प्रचण्डका छन् । प्रचण्डका मन्त्रीले आफ्ना मन्त्रालय अन्तगर्त नियुक्त गरेका छन् । सरकार संचालन सहज बनाउन प्रधानमन्त्रीले गर्ने कतिपय नियुक्तिमा प्रचण्डले अवरोधमात्र गरेका छन् । नियुक्तिमा बखेडा झिक्नु प्रचण्डको प्रवृति भइसक्यो ।

कर्णाली प्रदेशको घटना
कर्णाली प्रदेशमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा त्यसमा प्रचण्ड र माधव नेपाल नजिकका सांसदले पनि हस्ताक्षर गरे । आफूलाई नसोधि प्रस्ताव ल्याएको र त्यो गलत भएको प्रधानमन्त्रीले बताउनुभयो । तर प्रचण्ड र नेपाल पक्ष मिलेर एउटा गल्तीमाथि अर्को गल्ती गर्न उकासेको तथ्य हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेका हुन् । सीमा लगायतका बिषयमा संवाद गर्न बिभिन्न च्यानल प्रयोग हुन्छन् । प्रचण्ड र बाबुराम आफैं रअका अधिकारीसँगको सम्पर्कबाट भारतीय संस्थापनसम्म पुग्नुभएको हो । प्रधान सेनापति प्रकरणमा कटवाललाई बर्खास्त गर्नुअघि भारतीय सल्लाह मागेको तर नपाएको उहाँले नै बताउनु भएको हो ।

राष्ट्रवादी होइन, लम्पसारवादी
प्रचण्ड राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन । उनी सत्तामा पुग्न जस्ता पनि कम्प्रोमाइज गर्छन् । नौमहिने ओली सरकार उनले दक्षिणकै सहयोगमा ढालेका थिए । अहिले पनि ओलीबाट भन्दा आफूबाट भारतले लाभ लिनसक्ने सन्देश उनले बिभिन्न दूतमार्फ्त भारतीय संस्थापनसँग पुर्याएका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेको नक्सा अद्यावधिक भएको हो । त्यस बमोजिम जमिन फिर्ता ल्याउ लागिरहेका बेला प्रचण्ड सरकारलाई बिस्थापितको प्रयासमा लाग्नुभएको हो । वार्तामा बसेर प्रमाणसहित भूमि फिर्ता ल्याउने प्रयासलाई सफल हुन नदिने क्रियाकलाप प्रचण्डबाट भइरहेका छन् ।

प्रचण्डका हरेक बिरोधमा तथ्य कम र भड्काव बढी छ । निर्वाचनमा आयोगमा कसैले नेकपा एमाले दर्ता गर्यो, तर प्रचण्डले ओलीमाथि दोष लगाउनुभयो । जो व्यक्ति आफैं पहिलो अध्यक्ष छ प्रधानमन्त्री छ, उसलाई अर्को पार्टी किन चाहिन्छ ?

प्रचण्डलाई देशको विकास र समृद्धिमा चासो छैन । नेकपाका अध्यक्षका रुपमा प्रचण्डले प्रधानमन्त्रीलाई विकास र समृद्धिका लागि कसरी सहयोग गर्नुभयो ? विकासको वहसमा कहाँ भाग लिनुभयो, विकासको उहाँको सोच के हो ? कहाँ सार्वजनिक भयो ? सत्तावाहेक उहाँले केही हेरेको देखिदैंन ।

चाकरहरुको खोजी

प्रचण्ड आफ्नो चाकडी गर्नेलाई मात्र महत्वपूर्ण जिम्मेवारी दिन उद्यत हुन्छन् । उनीप्रति आलोचकीय दृष्टिकोण गर्नेलाई उनी मन पराउँदैनन् । पार्टीका इमान्दार कार्यकर्ताले नियुक्ति अवसर पाएनन् तर अवसरवादीले पाए । पछिल्लो समय पार्टी एकताम सहयोग गरेका नेतालाई मन्त्री बनाउने प्रस्ताव राख्दा प्रचण्ड मानेनन् । किनकी उनी जसरी ओली हटाउन चाहन्थे, तर ती सदस्यले त्यो गल्ती हुने बताएर जोड्न सहयोग गरे ।

भ्रमको खेती, प्रोपोगान्डिस्ट

प्रचण्डले ओलीबिरुद्ध चौतर्फी आक्रमण गरेका हुन् । तर ती असफल भए । किनकी तिनमा प्रमाण थिएनन्, तथ्य थिएनन्, आग्रहमात्र थिए । यति र ओम्नीको बिषय खुव उचाले तर तीनमा कुनै नीतिगत वा भ्रष्टाचारजन्य कार्य भएको थिएन । ओम्नीले फटाई गर्यो, यही सरकारले कारवाही गर्यो । यतिलाई नियम विपरित सरकारले कुनै फेभर गरेको छैन । प्रचण्डकै घरबेटी ठेकेदारसमेत कारवाहीमा परेका छन् ।

आफैंप्रति अविश्वास

मानिसले अरु जे भएपनि आफूलाई विश्वास गर्नुपर्छ । जव आफूप्रति विश्वास छैनभने देशले र नागरिकले उसलाई कसरी बिश्वास गर्न सक्छन । प्रचण्ड जहिले पनि तनावमा देखिन्छन्, शंका र उपशंकामा रहन्छन् । आफ्ना कमजोरी नहुने व्यक्तिले यति धेरै अस्थिर बन्नुपर्दैन । म गछुृ, सक्छु र मिलाउँछु भन्ने सोच उहाँमा देखिदैंन ।

प्रचण्ड तीन दशकबढी देखि पार्टी प्रमुख छन् । उनी कसैलाई नतृत्व हस्तास्तरण गर्न चाहँदैनन् र प्रतिस्पर्धा गर्न चाहनेलाई लखेट्छन् । बाबुराम, मोहन बैद्य र बिप्लव उदारण हुन । ओलीलाई उनी सक्दैनन् किनकी हैसियत नै सानो छ । जीवनशैली र व्यवहारमा नवउदारवादी र नवसामन्त जस्ता छन् तर बिचारमा अझै पनि सकिर्ण । त्यहीभएर अहिले पनि शास्त्रीय साम्यवादको पुरातन प्रयास गर्छन् ।

शक्ति र सामथ्र्य बुझ्न नसक्ने

पार्टी एकता गर्दाको हैसियत प्रचण्डले बिर्सेको देखिन्छ । एमाले ठूलो र एमाओवादी सानो पार्टी हो । ओलीको सदासयताले थप हैसियत पाएका हुन । तर शक्तिमा उनी कमजोर छन् । सानो पार्टीको अध्यक्षले ठूलो पार्टीको अध्यक्षलाई संचालन गर्छु भन्ने सोच नपालेको राम्रो । त्यसैपनि ओली प्रभावशाली नेता हुन, त्यसमा पनि पहिलो अध्यक्ष र प्रधानमन्त्री । ओलीलाई वाइपास गरेर केही गर्छु भन्नु दुस्साहस हो ।

प्रचण्ड नीति र व्यवहारमा अत्यन्तै असन्तुलित नेता हुन । विदेश नीतिमा उनी कहिले भारतका विरोधी र कहिले हितौषी भए । चीनका विश्वासी पनि भए र चीनले चरम अविश्वास पनि गर्यो । उनी अमेरिका र पश्चिमालाई शत्रु मान्छन् तर फेरी तिनैले उचालेको जातीय पहिचानका प्रवद्र्धक समेत बने । अहिले एमसीसीमा उनी वेलावेला बिरोधी र बेलाबेला समर्थक बन्छन् । सरकारको विरोध गर्न अहिले पनि बिरोधी भएका हुन्, त्यसको कन्टेन्टका कारण होइन ।

बैचारिक अस्पष्टता

प्रचण्डका बैचारिक प्रष्टता छैन । त्यसो भएपछि व्यक्ति पेण्डुलम बन्छ । उनी मदन भण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादलाई मान्छु भन्न सक्दैनन् । जनताको जनवाद के हो, शायद उनले पनि बुझेका छैनन् । उनी जवजको धारको नेतृत्व गर्ने ओलीसँगको यात्रामा छन् । ओली भावी यात्रामा प्रष्ट छन्, प्रचण्ड छैनन् ।

पछिल्लो पुस्ताप्रति अविश्वास
प्रचण्ड आफु पछिको पुस्तामा राजनीतिक नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । ओली चाहान्छन्, जसको उद्घोष उनले गरिसकेका छन् । अझैपनि आफूले मात्र प्रधानमन्त्री, अध्यक्ष चलाउनुपर्छ भन्ने ठान्छन् । यो अराजक र तानाशाही सोच हो ।

यी मूल समस्या हुन प्रचण्डका । यो सुची लामो हुनसक्छ । चुपचाप ओली सरकारलाई सहयोग गर्दा प्रचण्डको फेरी नेतृत्वको मौका पाउन सक्छन् । नत्रभए राजनीतिले अर्को बाटो लिनसक्छ् ।