१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणका लागि उत्तरकोरिया सहमत (सहमतिको बुँदासहित)


२९ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले ऐतिहासिक वार्तासँगै संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्।

उनले विगतको दाँजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्राय:द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्। उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत बताएका छन ।

नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए। दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्र पत्रकारहरुलाई वितरण गरिएको छ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निश्शत्रीकरणका लागि जोड दिंदै आएको थियो। ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।

दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस्

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोन सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १५:०१